
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई कारबाही गर्ने शेरबहादुर देउवा नेतृत्वको कार्य समितिलाई विशेष महाधिवेशनले भंग गरिसकेको बताएका छन्।
भृकुटीमण्डपको विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले आफूहरू मात्र होइन, विशेष महाधिवेशनमा सहभागी हुन आएका सबैलाई कारबाही गर्न चुनौती दिएका छन्।
‘हिम्मत छ ती प्रत्येक साथीहरूलाई कारबाही गर्ने ? थापाले भने, ‘विशेष महाधिवेशनले कांग्रेस अहिले विशेष महाधिवेशनको क्रममा छ भनेर निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ। विशेष महाधिवेशनबाट श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ र हामी अहिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौँ।’
‘यो सिंगो देशले सुनिरहेको छ। देशभरिका नागरिकले सुनिरहेका छन्। नेपाली कांग्रेस पार्टीको देशभरिका साथीहरूले सुनिरहेका छन्,’ उनले अगाडि भने, ‘यो हो नेपाली कांग्रेस। यहाँ छ नेपाली कांग्रेस।’
उनले विशेष महाधिवेशन हलमा बिपी कोइराला र गणेशमान सिंहको परिवारका सदस्यहरू नभए पनि त्योभन्दा ठूलो परिवारका सदस्यहरू भएको बताए।










Facebook Comments