
काठमाडौँ । नेपाली कांग्रेस संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेता फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपको वातावरण झनै तातेको छ। निष्कासनको खबर सार्वजनिक भएसँगै भृकुटीमण्डपमा कार्यकर्ताको भीड अघिल्ला दिनको तुलनामा उल्लेख्य रूपमा बढेको देखिन्छ।
निष्कासनको निर्णयपछि विशेष महाधिवेशन पक्षधर कार्यकर्ताबीच उत्साहसँगै अन्योल पनि देखिएको छ। ‘अब के हुन्छ? निर्वाचन आयोगले आधिकारिकता नदिए के होला?’ भन्ने प्रश्न कार्यकर्ताबीच व्यापक छ। कतिपयले यही विवादका कारण आगामी निर्वाचन नै सर्ने त होइन भन्ने आशंका समेत व्यक्त गरेका छन्।
भृकुटीमण्डप परिसरमा ‘अगाडि बढ गगन दाइ’ जस्ता नाराहरू गुञ्जिरहेका छन्। उपस्थित कार्यकर्तामध्ये केही उत्साही देखिए पनि केही भने निराश र अन्योलग्रस्त अवस्थामा छन्।
कांग्रेस महासमिति सदस्य तथा जाजरकोटका जनकबहादुर नेपाली वादीले यसलाई पार्टी फुटेको रूपमा व्याख्या गर्न नमिल्ने बताए। उनका अनुसार बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमै रहेकाले कांग्रेस त्यहीँ रहेको छ।
वादीका अनुसार विशेष महाधिवेशनले कसैलाई कारबाही गरेको छैन। सबै नेता कांग्रेसमै रहेको र विशेष महाधिवेशनका निर्णय स्वीकार गर्नुको विकल्प संस्थापन पक्षसँग नरहेको उनको दाबी छ। कानुनअनुसार निर्वाचन आयोग र अदालतले पनि विशेष महाधिवेशनलाई आधिकारिक मान्ने विश्वास उनले व्यक्त गरे। यदि आयोगले मान्यता नदिए आयोगमै धर्ना बस्ने चेतावनी समेत उनले दिए।
यस्तै, विशेष महाधिवेशनमा सहभागी युवा नेता विनोदराज जोशीले आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबी गरे। भदौ २३ र २४ को आन्दोलनपछि युवाहरूको भावना सम्बोधन गर्न बहुमत महाधिवेशन प्रतिनिधिले यो बाटो रोजेको उनले बताए। ‘बहुमत जहाँ छ, कांग्रेस त्यहीँ हो,’ उनले भने, ‘चार तारा र रुख हाम्रै हुन्छ भन्नेमा म विश्वस्त छु।’
जोशीले निर्वाचन आयोगप्रति सन्देह व्यक्त गर्दै यदि विधानविपरीत निर्णय आए त्यसलाई धोका मानिने चेतावनी दिए। तर आयोगले मान्यता नदिए के गर्ने भन्ने प्रश्नमा उनले कांग्रेस विचार जहाँ रहन्छ आफू पनि त्यहीँ रहने बताए। ‘नाम र चिह्न प्राविधिक कुरा हुन्। विचार नभएको कांग्रेस, कांग्रेस हुँदैन,’ उनले भने।
उनले सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा सम्मानजनक निकास लिने अवसर गुमाएको टिप्पणी पनि गरे।
वैधानिक रूपमा बोलाइएको विशेष महाधिवेशन नमान्नु ठूलो भूल भएको भन्दै आम कार्यकर्ताको भावना नबुझ्ने नेतृत्वका कारण कांग्रेस निराशाको अवस्थामा पुगेको उनले बताए।










Facebook Comments