
काठमाडौं। भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ (जहाज ९एन–एएमडी) मा सवार एक यात्रुले आज अनाधिकृत रूपमा जहाजको आपतकालीन ढोका खोलेपछि उडान ढिला भएको छ।
उक्त जहाजमा सवार यात्रु सुमन गौतमले आकस्मिक ढोका खोलेपछि उडान तत्काल स्थगित गरिएको थियो। बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले हवाई सुरक्षा मापदण्डअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको बताए। यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि जहाजको पूर्ण सुरक्षा सुनिश्चित गर्न प्राविधिक परीक्षण आवश्यक हुन्छ। त्यसका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा पुगिसकेको छ ।
घटनामा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । प्राविधिक टोलीद्वारा विस्तृत परीक्षण सम्पन्न भई जहाज सुरक्षित ठहरिएपछि मात्र उडान सञ्चालन गरिने बुुद्ध एयरले जनाएको छ ।








Facebook Comments