काठमाडौँ । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले आगामी माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा 'नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२' आयोजना गर्ने भएको छ। नेपाली सेनाको ऐतिहासिक विरासतदेखि वर्तमान समयका गतिविधिहरूलाई आम नागरिकसामु परिचित गराउने उद्देश्यले यो प्रदर्शनी आयोजना गर्न लागिएको हो।

प्रदर्शनीमा नेपाली सेनाको गौरवमय इतिहास झल्कने फोटोहरू, ऐतिहासिक हातहतियार, सैन्य उपकरण तथा सेनाले विभिन्न समयमा निर्वाह गर्दै आएका भूमिकाहरूको प्रदर्शन गरिनेछ। यसका साथै सैनिक पोसाक, सैनिक ब्यान्ड, हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष सुरक्षा, शान्ति सेनामा नेपालको सहभागिता, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद र राष्ट्रिय सेवा दल लगायत सैनिक विद्यालयहरूका विविध गतिविधि समेटिएका स्टलहरू समेत रहने छन्।

ad

आम नागरिक तथा विद्यार्थीहरूलाई नेपाली सेनाका बहुआयामिक कार्यहरूलाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्न प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। प्रदर्शनीको पहिलो दिन माघ ४ गते बिहान ११:३० बजेदेखि बेलुका ५ बजेसम्म र बाँकी दिनहरूमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जङ्गी अड्डाको पश्चिम तर्फको गेटबाट प्रवेश गर्न सकिनेछ। यस प्रदर्शनीले सर्वसाधारण र विशेष गरी विद्यार्थी वर्गलाई नेपाली सेनाको सांगठनिक स्वरूप र यसका विविध कार्यहरूबारे जानकारी हासिल गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।