
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा राजधानीमा जारी विशेष महाधिवेशनले ठूलो आर्थिक खर्च निम्त्याएको छ। भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको महाधिवेशनका लागि हल भाडा, खाना–खाजा तथा व्यवस्थापनमा करोडौँ रुपैयाँ खर्च भएको देखिएको छ।
आयोजक पक्षका अनुसार महाधिवेशनस्थल भृकुटीमण्डप प्रयोग गरेबापत मात्रै १२ लाख ४० हजार रुपैयाँ भाडा तिरिएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनी हल, ठूलो चौर, बगैँचा, मूल गेट नजिकको चौर र हल पछाडिको चौर प्रयोग गरेबापत उक्त रकम बुझाइएको हो। समाज कल्याण परिषद् अन्तर्गत भृकुटीमण्डप व्यवस्थापन विभागका प्रमुख खगनाथ रेग्मीका अनुसार सुरुमा आयोजकबाट १ लाख ५७ हजार रुपैयाँ धरौटी बुझाइएको थियो भने त्यसपछि मंगलबार थप ११ लाख रुपैयाँ भुक्तानी गरिएको हो।
रेग्मीका अनुसार सुरुमा पुस २७ र २८ गतेका लागि मात्रै स्थल माग गरिएको थियो। तर कार्यक्रम मंगलबारसम्म लम्बिएपछि सोहीअनुसार तीन दिनको हिसाबले १२ लाख ४० हजार रुपैयाँको बिल काटिएको हो। कांग्रेस दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट मनोजमणि आचार्यले पुस २५ गते प्रदर्शनी हल उपलब्ध गराइदिन निवेदनसहित धरौटी बुझाएका थिए।
भृकुटीमण्डप व्यवस्थापन विभागले दिएको विवरणअनुसार प्रदर्शनी हलको प्रतिदिन २ लाख ५० हजार रुपैयाँका दरले तीन दिनको ७ लाख ५० हजार, ठूलो चौरको प्रतिदिन ७५ हजारका दरले तीन दिनको २ लाख २५ हजार, बगैँचाको दुई दिनको १ लाख ५० हजार, मूल गेट नजिकको सानो चौरको तीन दिनको ९० हजार तथा पार्किङ पछाडिको हलको २५ हजार रुपैयाँ लिइएको छ। कार्यक्रम बुधबारसम्म लम्बिएकाले थप एक दिनको भाडा समेत जोडिने सम्भावना रहेको छ।










Facebook Comments