
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले कुनै पनि तहको चुनावका लागि उम्मेदवार हुन पार्टीभित्रको ‘प्राइमरी इलेक्सन’ जितेर आउनुपर्ने विधि पास गरेको छ।
पार्टी विधानको अंग बनाउने गरी विशेष महाधिवेशनको बन्द सत्रले मंगलबार विधान संशोधन प्रस्ताव पारित गरेको हो।
‘नेपाली कांग्रेसको उम्मेदवार छनोट सम्बन्धित तह र क्षेत्रका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट बढी मत प्राप्त गर्ने एक महिला सहित तीनजना छनोट गरी तीमध्ये एकजनालाई चयन गर्ने व्यवस्था गरिनेछ,’ बन्दसत्रले पास गरेको विधान संशोधन प्रस्तावमा उल्लेख छ।
विधान महाधिवेशनले भने स्थानीय तहका लागि सम्बन्धित तहका क्रियाशील सदस्यको मतदानबाट चुनिएका तीनजनाको नाम निर्वाचन समितिमा पठाइने व्यवस्था पास गरेको हो।
उक्त व्यवस्थाले तीन जनामध्ये एक महिला अनिवार्य हुने व्यवस्था पनि विशेष महाधिवेशनले पास गरेको छ।
क्रियाशील सदस्यले सबभन्दा बढी मत महिलाहरूलाई दिए भने तीनैजनाको नाम निर्वाचन समितिमा पठाउनुपर्नेछ।
तर, तीनजना पुरुषकै मत बढी आयो भने बढी मत ल्याउने दुईजना र महिलाबाट बढी मत ल्याउनेको नाम निर्वाचन समितिमा पठाइनेछ। समितिले तीनमध्ये एकजनालाई उम्मेदवार चयन गर्नेछ।
अहिले स्थानीय तह तथा संसदीय निर्वाचनका लागि सम्बन्धित तह वा क्षेत्रको समितिले उम्मेदवारहरू सिफारिस गरी पठाउने व्यवस्था थियो।










Facebook Comments