
काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनले पार्टी विधान संशोधन गर्दै राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री र सांसदसम्मको कार्यकाल अवधि किटान गरेको छ।
पार्टी विधानको अंग बनाउने गरी विशेष महाधिवेशनको बन्द सत्रले मंगलबार विधान संशोधन प्रस्ताव पारित गरेको हो।
संशोधित विधानअनुसार अबदेखि कांग्रेसमा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र प्रत्यक्ष निर्वाचन प्रणालीबाट चारपटक मात्र सांसद बन्न पाइने गरी सीमा तोकिएको छ।
त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुने अवसर पनि एक व्यक्तिका लागि एकपटक मात्र हुने गरी व्यवस्था गरिने उल्लेख छ।
पार्टीमा प्रवेशको मापदण्ड र नीति भएजस्तै पार्टीका तर्फबाट स्थानीय, प्रदेश र संघीय तहमा राज्यको कुनै जिम्मेवारी वा शासकीय पदको अवधि तोकिएको विधान संशोधनमा उल्लेख छ।
एउटै व्यक्ति पटकपटक एउटै शासकीय जिम्मेवारीमा जाने परम्परा अन्त्य गर्दै पार्टीका तर्फबाट सार्वजनिक जिम्मेवारीमा प्रतिनिधित्व गर्ने विषयमा सीमित व्यक्तिले पटकपटक अवसर पाउने अवस्था रोक्न यस्तो संशोधन गरिएको उल्लेख छ।










Facebook Comments