
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनलाई स्वामित्व लिन नमानेपछि सहमति जुटाउन सोमबार दिनभर भएका प्रयास असफल भएका छन् ।
केहीछिन अघि शेखर कोइरालानिकट जिल्ला सभापतिहरुले महाधिवेशन पक्षधर नेताहरुसँगको छलफलमा तयार पारेको मध्यमार्गी प्रस्तावमा छलफल भएको थियो ।
नेता कोइरालाले आफ्ना सहयोगी मिनेन्द्र रिजाल, बद्री पाण्डे र जीवन परियारलाई सँगै लिएर उक्त प्रस्ताव बोकेर देउवा निवास गएका थिए । तर देउवाले विशेष महाधिवेशनलाई स्वामित्व दिने कुरा स्वीकार्न नसकिने बटमलाइन लिएपछि सहमति हुन नसकेको एक केन्द्रीय सदस्यले बताए । शेखर निस्किएपछि देउवाले आफू पक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए ।
उक्त छलफलपछि नै केन्द्रीय समितिको बैठक मंगलबारका लागि बोलाइएको छ । प्रवक्ता प्रकाशशरण महतले यसअघि केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयबारे जानकारी दिनका लागि बैठक बोलाइएको बताए ।
उनले विशेष महाधिवेशनलाई स्वामित्व लिएर अघि बढ्ने कुरामा सभापति र नेता शेखर कोइराला दुवैको असहमति रहेको बताए ।
‘केन्द्रीय कार्यसम्पादन समितिले दुई दुई पटक औचित्य छैन भनेर निर्णय गरेको विशेष महाधिवेशनलाई नै स्वामित्व लिने कुरा हुनै सक्दैन । यसमा सभापतिज्यू, शेखर कोइराला र हामीहरुको धारणा एउटै छ,’ उनले भने, ‘पार्टी सञ्चालन र अरू नीतिगत सुधारका विषयमा छलफल गर्न सकिन्छ ।’










Facebook Comments