
काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर चुलिएको विवादबीच सभापति शेरबहादुर देउवा सक्रिय भएका छन्। विशेष महाधिवेशन विधानअनुरूप नभएको निष्कर्षमा पुगेका देउवामाथि भने विशेष महाधिवेशन पक्षधरहरूले आवश्यक गणपूरक संख्या पुर्याएपछि संवादको दबाब बढेको हो।
सभापति देउवामाथि महामन्त्रीद्वयसँग तत्काल संवाद गर्न उनीनिकट नेताहरूले नै जोड दिएका छन्। सोमबार अपराह्न महाराजगन्जस्थित निवासमा देउवाले केन्द्रीय सदस्य, पदाधिकारी र पूर्वपदाधिकारीसँग चरणबद्ध छलफल गरे। उनले सामूहिक, प्रदेशगत र व्यक्तिगत रूपमा नेताहरूसँग राय लिएका थिए। सोही क्रममा देउवाले नेता डा. शेखर कोइरालासँग पनि छुट्टै संवाद गरेका थिए।
कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार छलफलमा पार्टीलाई एकताबद्ध राख्न सभापतिले महामन्त्रीद्वयसँग ढिलाइ नगरी संवाद सुरु गर्नुपर्ने सुझाव आएको थियो। “पार्टीलाई एकढिक्का राख्न सभापतिलाई महामन्त्रीहरूसँग तत्काल संवाद गर्न आग्रह गरिएको छ,” विश्वकर्माले भने, “सभापतिले कुरा सुन्नुभएको छ र चाँडै संवाद सुरु हुने संकेत देखिएको छ।”
विशेष महाधिवेशन आह्वान भएपछि सभापति देउवा र महामन्त्रीद्वय थापा–शर्माबीच औपचारिक संवाद ठप्पजस्तै थियो। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरे पनि देउवा नेतृत्वको संस्थापन समूहले त्यसलाई मान्यता नदिएको थियो। केन्द्रीय समितिले २६ देखि २८ पुससम्म १५औँ नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि तयारी नपुगेको भन्दै पछि स्थगित गरिएको थियो। त्यसपछि महामन्त्रीद्वयले २७ र २८ पुसका लागि विशेष महाधिवेशन आह्वान गरेका थिए।
पार्टीभित्रको यो विवादको पृष्ठभूमिमा २३ र २४ भदौको जेन–जी आन्दोलन पनि जोडिएको छ। आन्दोलनका क्रममा भएको आक्रमणमा सभापति देउवा र उनकी पत्नी आरजु राणा देउवा घाइते भएपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। स्वदेशमा प्रारम्भिक उपचारपछि देउवा दम्पती थप उपचारका लागि सिंगापुर गएका थिए। फर्किएपछि भने देउवा पुनः पार्टी गतिविधिमा सक्रिय भएका थिए।
तोकिएको समयमा नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय विशेष महाधिवेशनको तयारीमा खुलेर लागे। तर देउवा समूह भने सुरुदेखि नै विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै आएको छ। सहमहामन्त्री महेन्द्र यादवका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको निर्णय नै कांग्रेसको आधिकारिक निर्णय हो। “केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य छैन भन्ने निष्कर्ष निकालिसकेको छ,” यादवले भने, “जतिसुकै मानिस भेला भए पनि त्यसले वैधानिक अर्थ राख्दैन।”
यसैबीच, सभापति देउवाले आइतबार र सोमबार पनि डा. शेखर कोइरालासँग छुट्टाछुट्टै संवाद गरेका थिए। कोइरालाले सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे र मिनेन्द्र रिजालसहित देउवासँग भेट गरी पार्टी विभाजनको जोखिम औंल्याएका थिए। उनले अन्तिमसम्म पार्टी एकता जोगाउन प्रयास गर्ने भन्दै महामन्त्रीद्वयसँग संवाद सुरु गर्न देउवालाई आग्रह गरेका थिए।
पार्टीभित्र बढ्दो तनाव, विशेष महाधिवेशनको वैधानिकतामाथि उठेको प्रश्न र नेतृत्वबीचको संवादहीनताबीच अब देउवा–महामन्त्रीद्वयको भेटले कांग्रेसको आन्तरिक संकटलाई कुन दिशामा लैजान्छ भन्ने चासो बढेको छ।










Facebook Comments