काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद मिलाउनका लागि मध्यमार्गी प्रस्ताव अघि सारिएको छ । डा।शेखर कोइरालानिकट रहेको जिल्ला सभापतिहरुले उक्त प्रस्ताव माथि छलफल गरी नेताहरूलाई जानकारी गराएका छन् ।

हिजोदेखि सुरु भएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने संशयले मध्यमार्गी प्रस्ताव बाहिर ल्याइएको छ । धादिङ जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार तीन प्रस्ताव अघि सारिएको छ ।

ad

उनका अनुसार विशेष महाधिवेशनलाई पार्टीले स्वामित्व लिने, सभापति शेरबहादुर देउवाले उम्मेदवारका लागि हस्ताक्षर गर्ने अधिकार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रदान गर्ने, नियमित महाधिवशेनको सुनिश्चिता गर्ने र विशेष महाधिवेशनमा प्रस्तुत भएका दस्तावेजलाई पार्टीको पुँजीको रुपमा स्वीकारलगायत छन् ।

उक्त प्रस्तावलाई सभापति शेरबहादुर देउवासमक्ष पुर्‍याइसकिएको अधिकारीले जानकारी गराए । शेखर निकटका जिल्ला सभापतिहरुले मंगलबार सभापति देउवालाई भेट्ने तय भएको छ । 

पार्टीभित्र उत्पन्न संकटबाट निकास निकाल्न दुबै पक्षबाट वार्ता समिति गठन गर्ने बारेमा पनि कुरा भइरहेको अधिकारीले जानकारी गराए । मध्यमार्गी प्रस्तावका लागि धादिङका जिल्ला सभापति अधिकारी सहित चितवनका राजेश्वर खनाल, नुवाकोटका रमेश महत लगायत सक्रिय भएका थिए ।

संस्थापनइतरका नेता डा। शेखर कोइरालाले आफू निकटका नेता र कानुन व्यवसायीसँग सोमबार बिहान छलफल गरेका थिए । कोइरालाले आज नै महामन्त्री विश्वप्रकाश शर्मासँग पनि छलफल गरेका थिए ।

विशेष महाधिवेशनको दोस्रो दिनका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पेस भएको छ । बन्दसत्रमा उक्त प्रतिवेदन माथि मंगलबार पनि प्रतिनिधिहरुले दृष्टिकोण राख्ने भएका छन् ।