
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनको खतरा बढेको औँल्याउँदै सभापति शेरबहादुर देउवालाई तत्काल मिलाएर अघि बढ्न सुझाव दिएका छन् ।
सोमबार महाराजगञ्जस्थित देउवा निवास पुगेर कोइरालाले पार्टीलाई फुटबाट जोगाउन र असन्तुष्ट नेताहरूलाई कारबाही नगर्न आग्रह गरेका हुन् ।
देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए । उक्त बैठक सुरु हुनुअघि डा. कोइराला, उपसभापति बद्री पाण्डे, सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजालसहित देउवा निवास पुगेका थिए ।
करिब ४५ मिनेट भएको छलफलमा कोइरालाले पार्टी गम्भीर मोडमा पुगेको भन्दै नेतृत्वलाई जिम्मेवार बन्न ध्यानाकर्षण गराएका छन् ।
भेटका क्रममा कोइरालाले विशेष गरी गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरु घिमिरेलगायत नेताहरूलाई पार्टीको मूलधारमा फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिएको स्रोतको भनाइ छ ।
उनले कुनै पनि नेतामाथि कारबाहीको निर्णय नगर्न र भरसक संवादमार्फत मिलाउने उपाय खोज्न देउवालाई आग्रह गरे ।
‘पार्टी फुटतिर जाँदै छ, यसलाई जोगाउने जिम्मेवारी सभापतिको हो,’ कोइरालाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘गगन–विश्वप्रकाशहरूलाई बाटो बन्द गर्ने होइन, मिलाएर लैजाने लचकता देखाउनुपर्छ ।’
जवाफमा सभापति देउवाले आफू पनि पार्टी फुट्न नदिने पक्षमा रहेको र समस्या समाधानका लागि लचक हुन तयार रहेको बताएका छन् ।
देउवानिकट स्रोतका अनुसार उनी आजै कारबाही गरिहाल्ने मुडमा छैनन् । देउवाले मध्यमार्गी बाटो खोज्न र पार्टीमा सहमतिको वातावरण बनाउन आफू सकारात्मक रहेको आश्वासन कोइराला टोलीलाई दिएका छन् ।
लगत्तै महाराजगञ्जमा देउवा पक्षीय केन्द्रीय सदस्यहरूको बैठक भएको थियो । झन्डै ८० जना केन्द्रीय सदस्यहरूसँगको छलफलपछि देउवाले थप कदम चाल्ने बताइएको छ ।










Facebook Comments