काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने भएका छन् । उनले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेको पत्र जिल्ला कार्य समिति दार्चुलाले सोमबार सार्वजनिक गरेको हो ।

गत मंसिर २५ र २६ मा बसेको कांग्रेस जिल्ला कार्य समिति दार्चुलाको बैठकले नेता बडूलाई सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस गरेको थियो ।

ad

नेता बडूले बैठकमा मुलुकको विकसित राजनीतिक परिस्थिति र विशेष गरी भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र प्रदर्शनले सिर्जना गरेको राजनीतिक तथा सामाजिक अवस्थाका कारण आफू उम्मेदवार नबन्ने इच्छा राखेका थिए । नेता बडूले आफूलाई सिफारिस गरेकामा जिल्ला समितिलाई भने धन्यवाद दिएका थिए ।

मंसिर २५ र २६ गते बसेको जिल्ला कार्य समिति बैठकमा पूर्वमन्त्रीसमेत रहेका नेता बडूले आफू चुनावमा उठ्ने मनसाय नभएको भन्दै नयाँलाई पालो दिने बताएका थिए । 

बडूले पुस २२ गते चुनाव नलड्नेसम्बन्धी पत्र बुझाएकामा २४ गते दर्ता गरिएको थियो भने सोमबार उक्त पत्र सार्वजनिक गरिएको हो ।