
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अपेक्षाभन्दा बढी सहभागिता देखिँदै जाँदा पार्टीभित्रको शक्ति सन्तुलन तीव्र रूपमा फेरिएको छ।
आयोजकका अनुसार कुल महाधिवेशन प्रतिनिधिमध्ये ६२.४ प्रतिशतले औपचारिक रूपमा उपस्थिति दर्ता गराइसकेका छन्, जसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पक्ष स्पष्ट बहुमततर्फ पुगेको संकेत गरेको छ।
यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग केन्द्रीय कार्यालयमा बुझाइएको थियो। केन्द्रीय कार्यसमितिले महाधिवेशन आह्वान नगरेपछि महामन्त्रीद्वयले अग्रसरता लिँदै विशेष महाधिवेशन बोलाएका थिए। अहिले उपस्थितिको प्रतिशत ६२.४ पुग्नुले यो महाधिवेशन केवल मागको चरणमा सीमित नरही निर्णायक मोडमा पुगेको देखिन्छ।
बहुमत प्रतिनिधि सहभागी, शीर्ष नेतृत्व अनुपस्थित
विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत शीर्ष नेताहरू उपस्थित नभए पनि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको छ। पार्टी पदाधिकारीमध्ये दुई महामन्त्री र एक सहमहामन्त्री मात्र औपचारिक रूपमा महाधिवेशनमा सहभागी छन्।
यद्यपि देउवा र शेखर पक्षकै विनोद चौधरी, डिला संग्रौला, पुष्पा भुसाल, उदयशमशेर राणा, राजन केसी, केदार कार्की लगायतका नेताहरू महाधिवेशन स्थलमा देखिनुले देउवा समूहभित्रै पनि मत विभाजन सुरु भएको संकेत गरेको छ।
नीति र नेतृत्व दुवै बदल्ने दाबी
सोमबार बिहान ८ बजे सुरु हुने बन्दसत्रमा पार्टीको नीति, नेतृत्व र भविष्यको मार्गचित्र माथि निर्णायक छलफल हुने आयोजकले बताएका छन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टीको आगामी बाटो तय गर्ने स्पष्ट पारे।
उनले महाधिवेशनबाट दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्ने संकेतसमेत गरे। 'महाधिवेशनको हलले जे निर्णय गर्छ, त्यो नै कांग्रेसको नीति र दिशा हुन्छ,' शर्माले भने।
महामन्त्री गगन थापाले पनि महाधिवेशन नै पार्टीको सर्वोच्च निकाय भएको उल्लेख गर्दै 'महाधिवेशनले चाह्यो भने नेता बदल्छ, नीति बदल्छ र विधानसमेत बदल्न सक्छ' भन्ने सन्देश दिए। उनले पार्टीलाई सही दिशामा ल्याउन आफूहरू हार्नसमेत तयार रहेको बताए।
देउवा र शेखर दुवै पक्ष दबाबमा
महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिको उपस्थिति दर्ता भएसँगै सभापति देउवा र संस्थापन इतर नेता डा. शेखर कोइराला दुवै राजनीतिक दबाबमा परेका छन्। विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै आएका देउवानिकट नेताहरूका लागि यो संख्या चुनौतीपूर्ण बनेको छ।
यही बीच सभापति देउवाले विशेष महाधिवेशनमा बहुमत पुग्ने संकेत देखिएपछि आफूनिकट नेताहरूलाई महाराजगञ्जस्थित निवासमा छलफलका लागि बोलाएका छन्। स्रोतका अनुसार महाधिवेशनबाट उत्पन्न परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे आन्तरिक रणनीति बनाउने प्रयास भइरहेको छ।
‘फुट होइन, पुनर्जागरण’ को सन्देश
उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताहरूले पार्टी फुटको चर्चा नगरी विशेष महाधिवेशनलाई कांग्रेसको पुनर्जागरणको अवसरका रूपमा चित्रण गरेका छन्। गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लगायतका नेताहरूले देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन सार्वजनिक रूपमा आग्रह गरेका छन्।
पूर्वउपसभापति गोपालमान श्रेष्ठदेखि युवा प्रतिनिधिसम्मले गगन–विश्वको अडानको खुलेर प्रशंसा गरेका छन्। उनीहरूका अनुसार लामो समयदेखि यथास्थितिमा चलेको कांग्रेसलाई नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सन्देश आवश्यक छ।
निर्णायक घडीमा कांग्रेस
६२.४ प्रतिशत प्रतिनिधिको उपस्थिति दर्ता भइसकेको अवस्थामा विशेष महाधिवेशन अब प्रतीकात्मक होइन, निर्णायक राजनीतिक शक्ति केन्द्र बनेको छ। बन्दसत्रबाट के निर्णय आउँछ भन्ने कुराले मात्र होइन, त्यस निर्णयलाई नेतृत्वले कसरी स्वीकार गर्छ भन्नेले पनि कांग्रेसको भविष्य निर्धारण गर्नेछ।
विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिने कि पार्टीभित्रको संघर्ष अझ चर्काउने, त्यसको उत्तर अब बन्दसत्र र त्यसपछिका राजनीतिक कदमले दिनेछ।










Facebook Comments