
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्ने बताइएको छ।
सोमबार हुने बन्द सत्रमा पार्टीको नीतिका साथै नेतृत्वको विषयमा छलफल हुने प्रतिनिधिहरूले बताएका छन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनले दुईपटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्ने बताए।
विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजे सुरू हुने आयोजकले जनाएको छ।
६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएको आयोजकले जनाएको छ। विशेष महाधिवेशनको उद्घाटन सत्रमा यो संख्यामा प्रतिनिधि उपस्थित भएर हस्ताक्षर गरेको आयोजकले जनाएको हो।
यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका थिए।
केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाएपछि महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अग्रसरता लिएका थिए। ५४ प्रतिशत प्रतिनिधिले माग गरेको भन्दै उनीहरूले विशेष महाधिवेशन बोलाएका हुन्।
सभापति शेरबहादुर देउवानिकट नेताहरू भने विशेष महाधिवेशनको विपक्षमा छन्। नियमित महाधिवेशनको मिति तय भइसकेकोले विशेष महाधिवेशन विधानविपरित रहेको उनीहरूको भनाइ छ।
यद्यपि संस्थापननिकट कतिपय केन्द्रीय सदस्य तथा पदाधिकारीहरू विशेष महाधिवेशनमा सहभागी भएका छन्। केन्द्रीय पदाधिकारीहरूमध्ये जम्मा तीनजना विशेष महाधिवेशनमा सहभागी भएका छन्। दुईजना महामन्त्री र एक सहमहामन्त्री विशेष महाधिवेशनमा सहभागी भएका हुन्।
महाधिवेशनमा पार्टीका शीर्ष नेता र पदाधिकारीहरू सहभागी नभए पनि बहुमत महाधिवेशन प्रतिनिधिहरू सहभागी भएकाले विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्नेछ।










Facebook Comments