काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले  महाधिवेशनले चाहेमा नेता, नीति र विधान बदल्न सक्ने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार सम्बोधन गर्दै थापाले महाधिवेशन नै सबैभन्दा ठूलो भएको उनले बताए ।  

हलले गरेको निर्णय मानेर अघि बढ्नुपर्ने पनि बताए । 'कांग्रेस पार्टीमा महाधिवेशन भन्दा ठूलो केही पनि छैन । महाधिवेशनले चाह्यो भने नेता छान्छ र नेता बदल्छ । महाधिवेशनले चाह्यो भने नीति छान्छ र नीति बदल्छ, महाधिवेशनले चाह्यो भने विधान बदल्छ,' थापाले भने ।

ad

पार्टीको विशेष महाधिवेशनको नेतृत्व लोभ र लालच लिएर नगरेको पनि थापाको भनाइ थियो ।
थापाले सभापति शेरबहादुर देउवालगायतका नेताहरूलाई गम्भीर भएर सोच्न आग्रह गरेका छन् । 

उनले विशेष महाधिवेशनमा आएका प्रतिनिधिहरूलाई पनि आग्रह गरेका छन्, 'भोलिको समय छ, ठण्डा दिमागले सोचौं । पार्टीका नेताहरू भोलिको कार्यक्रममा आउनुहुन्छ भन्ने अपेक्षा गर्छौं । आउने नआउने उहाँहरूको मर्जी । निर्णय गर्ने तपाईं (महाधिवेशन प्रतिनिधि)हरूको मर्जी ।'

पार्टीलाई ठिक ठाउँमा ल्याउनका लागि अहिले विशेष महाधिवेशनको आयोजना गरेको थापाले बताए । 

उनले त्यसका लागि आफू हार्न पनि तयार रहेको बताए । 'पार्टीलाई ठिक ठाउँमा उभ्याउनका लागि हामी हार्न तयार छौं । कांग्रेस ठिक भएमा देश ठिक ठाउँमा उभिन्छ,' उनले भने ।