काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै कांग्रेस दास र लासहरूको पार्टी नभएर जिउँदा मानिसहरूको पार्टी भएको बताएका छन्।

महामन्त्री थापाले भदौ २३ र २४ को जेनजी आन्दोलनमा नवयुवाहरूको मात्र होइन, देशभरका लाखौँ लाख नागरिको आक्रोश सडमा अभिव्यक्त भएको उल्लेख गरे।

ad

‘राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो(बेबी)हरूको राज देखेर उनीहरू रिसाएका हुन्। र, आमनागरिकको त्यो रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको हो,’ कांग्रेसको दोस्रो विशेष महाधिवेशनको जारी उद्घाटन सत्रमा महामन्त्री थापाले भने।

उनले अगाडि भने, ‘त्यो आन्दोलनमा जनताले सरकारसँग रिस पोखेका थिए। त्यो सरकारमा को थियो ? हामी थियौँ। उनीहरू संसद्सँग रिसाएका थिए। त्यो संसदमा को थिए ? हामी थियौँ। उनीहरू हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन्।’

महामन्त्री थापाले पछिल्लो समय आफूले देखेका राजनीतिक कार्यक्रममा यति ठूलो जनसहभागिता र चासो कहिल्यै नदेखेको पनि उल्लेख गरे।

‘तपाईंहरूको उपस्थितिले पनि देखाउँछ, यो महाधिवेशन त्यसै विशेष भएको होइन। यसको नाम मात्र विशेष होइन, यसलाई हामीले विशेष बनाएर देखाउनु छ,’ उनले भने।

आफूहरूले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सहभागी होऊन् भन्ने चाहेको महामन्त्री थापाले उल्लेख गरे।