
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट हुने निर्णय नै पार्टीको आगामी दिशा र मार्गचित्र हुने स्पष्ट पारेका छन्। आइतबार काठमाडौंमा जारी कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनतामा रहेको असन्तुष्टि गहिराइसम्म केलाएर त्यसको समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे।
महामन्त्री शर्माले कांग्रेसले अब नागरिकका गुनासा सतही रूपमा होइन, ‘केस्राकेस्रा’ विश्लेषण गरेर नीति निर्माण गर्ने बताए। “कसैले प्रत्यक्ष, कसैले सामाजिक सञ्जालमार्फत हेरिरहनु भएको छ। तपाईंहरू प्रत्येकको असन्तुष्टि, गुनासो र प्रश्नलाई कांग्रेसले बुँदाबुँदा टिपोट गर्छ, छलफल गर्छ र समाधान खोज्छ,” उनले भने।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कांग्रेस विशेष महाधिवेशनमार्फत आत्मसमीक्षा र संकल्पसहित जनतामाझ जाने तयारीमा रहेको उनले बताए। “रूख चिह्नमा मतदान गर्नुअघि जनताको असन्तुष्टि नदोहोर्याउने संकल्प लिएर हामी यो विशेष महाधिवेशन गरिरहेका छौं,” उनले भने।
शर्माले पछिल्ला ३४ वर्षमा देशमा ३० वटा सरकार बने पनि नागरिक सन्तुष्ट हुन नसकेको यथार्थ स्वीकार गर्नुपर्ने बताए। “प्रधानमन्त्री र मन्त्री बन्नेहरूलाई सन्तुष्टि मिल्यो होला, तर सेवाग्राहीलाई मिलेन,” उनले भने, “प्रशासनिक कार्यालयमा एउटा कोठाबाट अर्को कोठा धाउँदा सेवाग्राही थाक्छ, तर कुर्सीमा बस्नेहरूलाई समस्या हुँदैन। किसान मल कुर्दै बस्दा मन्त्रीको अनुहार सम्झेर खेती हुँदैन।”
उनले यस्ता असन्तुष्टिहरू विशेष महाधिवेशनको बन्दसत्रमा प्रतिवेदनका रूपमा विस्तृत छलफलमा जाने बताए।
जेनजी आन्दोलनको सन्दर्भ उल्लेख गर्दै महामन्त्री शर्माले आन्दोलनकारीलाई बाहिरबाट आएको समूहका रूपमा चित्रण गर्नु गलत हुने बताए। “जेनजी अन्तरिक्षबाट आएका होइनन्। उनीहरू हाम्रै घर–आँगनमा हुर्किएका छोराछोरी हुन्,” उनले भने।
भदौ २३ गतेको घटनालाई स्मरण गर्दै शर्माले त्यस दिन राज्यबाट अत्यधिक बल प्रयोग भएको स्वीकार गर्दै यसको गम्भीर समीक्षा विशेष महाधिवेशनको दस्तावेजमा समेटिने बताए। “संसद भवन जोगाउने नाममा यति धेरै जीवन गुम्नुपर्ने थियो कि थिएन भन्ने प्रश्न आज पनि मनमा आउँछ,” उनले भने। उक्त घटनाबारे तथ्यमा आधारित अनुसन्धान गरी जिम्मेवारी छुट्याएर मूल्यांकन गरिने उनको भनाइ छ।
महामन्त्री शर्माले विशेष महाधिवेशनपछि कांग्रेस विभाजित नभई झन् सुदृढ हुने दाबी गरे। “कांग्रेस फुट्छ भनेर रमाउनेहरूको आशा निराशामा बदलिन्छ,” उनले भने, “यो महाधिवेशन कांग्रेस टुक्र्याउन होइन, सिंगो कांग्रेसलाई बलियो बनाएर अगाडि बढाउनका लागि हो।”
उनले विशेष महाधिवेशनको बन्दसत्रबाट पारित निर्णय नै कांग्रेसको आधिकारिक नीति हुने र त्यसले देश र पार्टी दुवैलाई मजबुत बनाउने विश्वास व्यक्त गरे।
यसैक्रममा शर्माले विशेष महाधिवेशनले ‘दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने’ निर्णय गर्ने स्पष्ट संकेत पनि दिए। “मैले सभापतिजीलाई पटक–पटक छैटौं पटक प्रधानमन्त्री नबन्न सुझाव दिएको थिएँ,” उनले भने, “यो विशेष महाधिवेशनले दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने स्पष्ट निर्णय गर्छ।”
महामन्त्री शर्माका अनुसार लामो समयदेखि एउटै ढाँचामा राजनीति गर्दा जनताको विश्वास कमजोर भएको छ। त्यसैले अब कांग्रेसले जनताको आवाज सुनेर, आत्मसमीक्षा गरेर र स्पष्ट नीति लिएर अघि बढ्नुपर्ने आवश्यकता छ।
उनले अन्त्यमा भने, “विशेष महाधिवेशनको हलले जे निर्णय गर्छ, अब कांग्रेसको आगामी बाटो त्यही हुनेछ।”










Facebook Comments