काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट ‘अन्य’ समूहमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।

​निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आइतबार थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको हो। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २५ बमोजिम थापा निर्वाचित भएको कार्यालयले जनाएको छ।

ad

​‘अन्य’ समूह तर्फ रिक्त एक सदस्य पदका लागि थापाको मात्र उम्मेदवारी कायम भएपछि उनलाई निर्विरोध घोषणा गरिएको हो।

निर्वाचन अधिकृतद्वारा जारी सूचनामा भनिएको छ, ‘एक जना मात्र उम्मेदवार कायम हुन आएकाले देहायका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु।’

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल राप्रपाबाट केही वर्षअघि कांग्रेस प्रवेश गरेका थिए । ​निर्वाचित थापा पूर्वमन्त्री पनि हुन्। अन्य क्लस्टरबाट उनी निर्विरोध भए पनि बाँकी क्लस्टरका लागि भने तोकिएकै समयमा मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ।

नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआइपुग्दा कांग्रेसका थापाको एकल उम्मेदवारी परेको थियो।