
नेपाली राजनीतिको मियो र लोकतान्त्रिक आन्दोलनको संवाहक नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर र निर्णायक मोडमा छ, एकातिर बदलिँदो विश्वराजनीतिक परिवेश र नेपालका ‘जेन–जी’ पुस्ताको विद्रोहपछि विशेष परिस्थिति उत्पन्न भएको छ भने अर्कोतिर पार्टीको पूरातनवादी कार्यशैली र यथास्थितिवादी नेतृत्वको जडताको विरुद्ध निर्णय लिनुपर्ने समय आएको छ । यस्तो विषम परिस्थितिमा ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले माग गरेकाले पार्टीका दुई युवा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्नु केवल एउटा सांगठनिक प्रक्रिया मात्र नभई, बरु यो नेपाली कांग्रेसलाई नयाँ जीवन दिने ‘राजनीतिक सञ्जीवनी’ हुने देखिएको छ । पार्टी विधानले बाध्यकारी भनेको आजदेखि सुरु हुन गइरहेको विशेष महाधिवेशनले ८ दशक पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई पुनर्जागरण गर्ने सवै लोकतन्त्रवादीले विश्वास गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ (२) ले प्रष्ट रूपमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । झन्डै ५५ प्रतिशत अर्थात् २४८८ जना महाधिवेशन प्रतिनिधिहरूले असोजमै हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गर्दा पनि नेतृत्वले त्यसलाई बेवास्ता गर्नु लोकतान्त्रिक दलका लागि लज्जाको विषय थियो । जब विधानको पालना हुँदैन, तब नेतृत्वको वैधानिकतामाथि नै संकट उत्पन्न हुन्छ । यस्तो अवस्थामा पार्टीलाई विधानको लिकबाट बाहिर जान नदिन महामन्त्रीद्वयले चालेको कदम ऐतिहासिक र जिम्मेवारपूर्ण छ ।
इतिहास साक्षी छ, नेपाली कांग्रेस संकटको समयमा विशेष महाधिवेशनमार्फत नै पुनर्जागृत भएको छ । २०१४ सालको विराटनगर विशेष महाधिवेशनलाई स्मरण गर्ने हो भने, तत्कालीन सभापति सुवर्ण शमशेरले पार्टीलाई नयाँ ऊर्जा र नेतृत्व दिन मार्गप्रशस्त गर्दै बीपी कोइरालालाई अगाडि सारेका थिए । त्यही विशेष महाधिवेशनले कांग्रेसमा नयाँ प्राण भ¥यो र फलस्वरूप २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई–तिहाई बहुमत हासिल गर्न सफल भयो । आज पनि परिस्थिति २०१४ सालको जस्तै छ । पार्टीभित्र व्यापक रूपान्तरण र पुस्तान्तरणको माग उठेको छ । ‘नीतिमा नवीनता र नेतृत्वमा गतिशीलता’ आजको समयको माग हो । सुवर्ण शमशेरको त्यो त्याग र बीपीको त्यो दूरदृष्टि आजको नेतृत्वमा खोजिरहेका कार्यकर्ताका लागि महामन्त्रीहरूको यो पहल एउटा शीतल हावाको झोक्का बनेको छ ।
पछिल्लो समय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र पदाधिकारी बैठकहरूको शृंखला जसरी लम्बियो, त्यसले कतै न कतै ‘जालझेल’को गन्ध दिइरहेको थियो । एक महिनाभन्दा बढी समयसम्म ‘अनन्त बैठक’हरू बस्ने तर ठोस निर्णयमा पुग्न नसक्ने प्रवृत्तिले नियमित महाधिवेशनलाई समेत अनिश्चित बनाउने खेल भइरहेको बुझ्न कठिन छैन । मंसिरभित्रै हुन सक्ने नियमित प्रक्रियालाई टार्दै र विशेष महाधिवेशनको मागलाई निस्तेज पार्दै सत्ताको खेलमा मात्र रुमल्लिने नेतृत्वको शैलीले कांग्रेसलाई जनभावनाबाट टाढा पु¥याउँदै थियो । यस्तोमा ‘जेन–जी’ पुस्ताले सडक र सदनबाट उठाएका मुद्दाहरू सुशासन, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन र अवसरको समानतालाई आत्मसात गर्न कांग्रेसको पुरानो ढाँचा पूर्णतः अक्षम देखिन्थ्यो ।
विशेष महाधिवेशनको मुख्य ध्येय पार्टीको नीति र नेतृत्वमा समयसापेक्ष परिवर्तन ल्याउनु नै हुनुपर्छ । यो कसैको विरुद्धको विद्रोह मात्र होइन, बरु कांग्रेसलाई ‘नवीन कांग्रेस’ बनाउने अभियान हो । बदलिँदो परिस्थितिमा पार्टीका पूराना सिद्धान्त र कार्यशैलीले मात्र नयाँ पुस्ताको भावना समेट्न सकिँदैन । प्रविधिमैत्री युवाहरू, विदेश पलायन भइरहेका जनशक्ति र मुलुकभित्रै केही गर्न खोज्ने उद्यमीहरूका लागि कांग्रेसले ठोस रोडम्याप दिनुपर्छ । फागुन २१ गते तोकिएको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले आफूलाई एउटा बलियो, सुदृढ र गतिशील शक्तिका रूपमा पुनर्गठित गर्नैपर्छ । यदि यो विशेष महाधिवेशनले सघन आत्मसमीक्षा गर्दै दृढ संकल्पका साथ नयाँ नेतृत्व छनोट गर्न सक्यो भने आगामी निर्वाचनमा कांग्रेसलाई कसैले रोक्न सक्ने छैन ।
महामन्त्रीद्वयले गरेको यो आह्वानले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई जीवित राखेको छ । पार्टी विधान र राजनीतिक दल सम्बन्धी कानुनको पालना गर्नु केन्द्रको पहिलो कर्तव्य हो । विशेष महाधिवेशनको मञ्च अब केवल भाषणबाजीमा सीमित हुनुहुँदैन, यो त नीतिगत प्रष्टता र नेतृत्वको हस्तान्तरणको थलो बन्नुपर्छ । कांग्रेस बलियो हुनु भनेको नेपालको लोकतन्त्र बलियो हुनु हो । त्यसैले, यो विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक दलका रूपमा मात्र होइन, एउटा जीवन्त सामाजिक आन्दोलनका रूपमा पुनः स्थापित गरोस् । पार्टीभित्रको यो ऊर्जाले मुलुकको राजनीतिमा व्याप्त निराशालाई चिर्न सकोस् । महामन्त्रीद्वयको यो जिम्मेवार पहलको सफलता नै महाधिवेशन प्रतिनिधिहरू, लाखौं कार्यकर्ता र शुभचिन्तकहरूको साझा मनोभावना हो ।










Facebook Comments