काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौंमा आयोजना हुँदै छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मानिकट समूहको पहलमा हुन लागेको यो महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद स्पष्ट देखिन थालेको छ। 

सभापति शेरबहादुर देउवा पक्षले नियमित महाधिवेशनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएको छ भने विशेष महाधिवेशन समर्थकहरूले यसलाई समयको मागका रूपमा व्याख्या गरेका छन्।

ad

विशेष महाधिवेशनको घोषणा भएसँगै कांग्रेस विभाजनतर्फ जान सक्ने आशंका र आलोचना पनि सार्वजनिक रूपमा उठ्न थालेका छन्। तर महाधिवेशन पक्षधर नेताहरूले यस्ता आरोपलाई अस्वीकार गर्दै विशेष महाधिवेशन पार्टी फुटाउन नभई संगठनलाई सुदृढ र चलायमान बनाउनका लागि भएको दाबी गरेका छन्।

यसैक्रममा विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका जनप्रतिनिधिहरूसँग गरिएको कुराकानीमा नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले विशेष महाधिवेशन तत्काल आवश्यक भएको स्पष्ट धारणा व्यक्त गरेका छन्। उनका अनुसार देशको पछिल्लो राजनीतिक अवस्था, जनआन्दोलनपछिको अस्थिर परिस्थिति, ठूलो मानवीय तथा भौतिक क्षति र राजनीतिक दलहरूप्रति घट्दो जनविश्वासले कांग्रेसलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ।

यादवले पार्टीभित्र सुधारको प्रक्रिया अब ढिलाइ गर्न नहुने बताए। 'देशले यति ठूलो क्षति भोगिसक्दा पनि राजनीतिक दलहरूले गम्भीर समीक्षा नगर्नु नै समस्या हो,' उनले भने। उनका अनुसार नियमित महाधिवेशन हुन नसक्नुको प्रमुख कारण क्रियाशील सदस्यता वितरणमा देखिएको अवरोध हो।

मधेस प्रदेशका जिल्लाहरूमा नियमित रूपमा क्रियाशील सदस्यता वितरण नभएको आरोप लगाउँदै यादवले यसलाई पार्टीभित्रैबाट नियोजित रूपमा प्रक्रिया अवरुद्ध गर्ने प्रयासका रूपमा व्याख्या गरे। 'महामन्त्रीबाट पटक–पटक निर्देशन दिँदा पनि कार्यान्वयन नहुनु संयोग मात्र होइन,' उनले भने।

उनले विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत रहेको जिकिर गर्दै पार्टी फुट्ने हल्ला निराधार भएको बताए। जेनजी आन्दोलनपछिको अवस्थालाई स्मरण गर्दै यादवले भने, '७०–७५ जनाको ज्यान गइसकेको छ, अर्बौँको भौतिक संरचना नष्ट भएको छ। यति ठूलो घटनापछि पनि दलहरूले आत्मसमीक्षा नगर्नु गम्भीर विषय हो।'

अन्तर्राष्ट्रियस्तरमा समेत नेपाली राजनीतिक दलहरूको छवि कमजोर बन्दै गएको उल्लेख गर्दै उनले नेतृत्वप्रति जनआक्रोश बढ्दो रहेको बताए। 'आज नेताहरूलाई लखेटी–लखेटी कुटिने अवस्था देखिएको छ। यस्तो परिस्थितिमा पनि स्वीकार नगर्नु नै समस्याको जड हो,' यादवले भने। उनका अनुसार विशेष महाधिवेशन कांग्रेसलाई एकताबद्ध गर्दै नयाँ ऊर्जा भर्न केन्द्रित छ।

कांग्रेस इतिहासमै परिवर्तनको नेतृत्व गर्ने पार्टी भएको उल्लेख गर्दै यादवले पार्टीभित्र रुपान्तरण नभएसम्म देशले निकास नपाउने दाबी गरे। 'कांग्रेस बदलिँदा–बदलिँदै देशले दिशा पाएको छ। अब फेरि कांग्रेसबाटै परिवर्तनको थालनी हुनुपर्छ,' उनले भने।

यस्तै, नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि सिता मिजारले पार्टी विधानको धारा १७ (२०) अनुसार विशेष अवस्थामा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मागमा विशेष महाधिवेशन आह्वान गर्न सकिने स्पष्ट व्यवस्था रहेको बताइन्। 'विधानमै उल्लेख भएको प्रक्रियाअनुसार यो पहल भएको हो,' उनले भनिन्।

उनले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नगरे पार्टी कार्यालयले गर्न सक्ने व्यवस्था पनि विधानमै रहेको उल्लेख गरिन्। 'विधानअनुसार अघि बढ्दा पार्टी फुट्छ भन्ने तर्क आफैंमा असंगत छ,' मिजारले भनिन्। उनका अनुसार देशभरका प्रतिनिधिहरू समयको मागअनुसार नीति र नेतृत्वमा परिवर्तन चाहिरहेका छन्।

अन्य महाधिवेशन प्रतिनिधिहरूले पनि जनआन्दोलनपछि जनताले खोजेको परिवर्तन कांग्रेसले आत्मसात् गर्न नसके आगामी निर्वाचनमा पार्टी कमजोर बन्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार यथास्थितिमा चुनावमा जानु कांग्रेसका लागि जोखिमपूर्ण हुन सक्छ।

विशेष महाधिवेशन समर्थकहरूले यसलाई नीति निर्माण, संगठन सुधार र नयाँ नेतृत्व चयनको बाटो खोल्ने अवसरका रूपमा व्याख्या गरेका छन्। केन्द्रीय समितिले समयमै प्रक्रिया अघि नबढाएकाले बाध्य भएर विशेष महाधिवेशनको बाटो रोज्नुपरेको उनीहरूको भनाइ छ।

महाधिवेशन आयोजक पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको जानकारी दिँदै उहाँ उपस्थित हुने विश्वास व्यक्त गरेको छ।

यसैबीच विशेष महाधिवेशन समर्थक तथा महाधिवेशन प्रतिनिधि अमिर मादेनले वर्तमान राजनीतिक अवस्था र चुनावी समयतालिकाले विशेष महाधिवेशनलाई अपरिहार्य बनाएको बताए। फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा चुनावअघि पार्टीले ठोस निर्णय लिनैपर्ने अवस्था आएको उनको भनाइ छ।

मादेनका अनुसार अहिलेको राजनीतिक ‘मोमेन्ट’ लाई बुझेरै देशभरका महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा उभिएका हुन्। 'यो भेलाले समयको मागअनुसार नयाँ नेतृत्व चयन गर्नुपर्ने आवाजलाई संस्थागत रूप दिनेछ,' उनले भने।

उनले हाल ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन जुटिसकेको दाबी गर्दै देशव्यापी माहोल हेर्दा यो संख्या अझ बढ्न सक्ने बताए। '७७ वटै जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं केन्द्रित हुनुको अर्थ कांग्रेसलाई नयाँ दिशामा लैजान चाहिएको हो,' उनले भने।

मादेनले पार्टी फुट्ने हल्ला अस्वीकार गर्दै विशेष महाधिवेशन कांग्रेसलाई बलियो र एकताबद्ध बनाउने उद्देश्यका लागि भएको स्पष्ट पारे। 'विधानभन्दा माथि कोही छैन। विधान बनाउने पनि यही हजारौँ महाधिवेशन प्रतिनिधिहरू हुन्,' उनले भने।

उनका अनुसार लामो समयदेखि एउटै ढाँचामा पार्टी सञ्चालन हुँदा संगठन कमजोर बन्दै गएको छ। युवापुस्ताले नयाँ सोच र नेतृत्व खोजिरहेको उल्लेख गर्दै उनले समयमै निर्णय नलिए कांग्रेसको संगठनात्मक भविष्य नै संकटमा पर्न सक्ने चेतावनी दिए।

सबै नेताहरूलाई समयको संकेत बुझेर एकजुट हुन आग्रह गर्दै मादेनले विशेष महाधिवेशनलाई कांग्रेस रुपान्तरणको निर्णायक अवसरका रूपमा लिनुपर्ने धारणा राखे।