काठमाडौं । नेपाली कांग्रेसका महमन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि  विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् । 

उनीहरूले संयुक्त विज्ञप्तिमार्फत कांग्रेस विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको उल्लेख गरेका छन् ।

ad

महाधिवेशन प्रतिनिधिहरूले ‘बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउन, जनभावना अनुरूपको नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय लिनु अपरिहार्य रहेको’ भनी विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको जिम्मेवारीको विषय भएको उनीहरूको भनाइ छ । 

महामन्त्रीद्वय थापा र शर्माले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरू कटिबद्ध एवं प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । 

गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो । 

त्यस्तै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको राजनीतिक पृष्ठभूमिका विषयमा कांग्रेसमा समेत नेतृत्व परिवर्तनको आवाज उठेको थियो । विशेष महाधिवेशन आइतबार र सोमबार हुँदै छ ।