
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिने केन्द्रीय सदस्य ध्रुव वाग्ले (तनहुँ) ले पार्टीको विशेष महाधिवेशनको पक्षमा सार्वजनिक रूपमा समर्थन जनाएका छन्। उनले विधिसम्मत रूपमा आह्वान गरिएको विशेष महाधिवेशनलाई केन्द्रीय समितिले अवैधानिक भन्न नमिल्ने स्पष्ट पारेका छन्।
एक सञ्चारमाध्यमसँगको कुराकानीमा वाग्लेले विधानअनुसार बोलाइएको विशेष महाधिवेशनमाथि प्रश्न उठाउनु गलत हुने बताए। 'विधि र प्रक्रियाअनुसार डाकिएको विशेष महाधिवेशनलाई विधानको अपव्याख्या भनेर अस्वीकार गर्ने अधिकार कसैलाई छैन,' उनले भने।
वाग्लेले जेन–जी आन्दोलनका क्रममा घाइते भई उपचारका लागि सभापति देउवा सिंगापुर जाँदा कार्यवाहक सभापतिको जिम्मेवारी दिएको तर फर्किएपछि पुनः सम्पूर्ण अधिकार आफैंमा केन्द्रित गरेकोप्रति असन्तुष्टि जनाए। उनका अनुसार सुरुमा सभापतिको निर्णयले सकारात्मक सन्देश दिएको भए पनि पछिल्लो व्यवहारले पार्टीलाई कमजोर बनाउने संकेत देखिएको छ।
'सिंगापुर जानु अघि कार्यवाहक तोक्दा सभापतिको राजनीतिक उचाइ बढेको थियो,' वाग्लेले भने, 'तर फर्किएपछि सबै शक्ति आफैंले सम्हालेर पार्टी चलाउने प्रयास गर्नु पार्टी हितमा छैन।'
उनले विगतको सन्दर्भ उल्लेख गर्दै विशेष महाधिवेशन रोक्ने होइन, संवाद र सहभागितामार्फत समस्याको समाधान खोज्नुपर्ने बताए। 'पहिले गिरिजाप्रसाद कोइरालाले डाकेको विभाजनको अवस्थामा कृष्णप्रसाद भट्टराईले संयम अपनाएर पार्टी जोगाउनुभएको थियो,' उनले भने, 'अहिले पनि सभापति देउवाले विशेष भेलामा सहभागी भएर आफ्ना कुरा राख्नुपर्छ।'
आगामी निर्वाचनतर्फ संकेत गर्दै वाग्लेले कांग्रेस नयाँ नेतृत्व र नयाँ सन्देशसहित मैदानमा उत्रिनुपर्ने धारणा राखे। 'विशेष महाधिवेशनले पार्टीलाई नयाँ दिशा दिन सक्छ,' उनले भने, 'नयाँ अनुहार र नयाँ सन्देशबिना कांग्रेसले जनमत निर्माण गर्न कठिन हुन्छ।'










Facebook Comments