काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व शैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै विशेष महाधिवेशनको पक्षमा उभिएको बताएका छन्। 

सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि पनि एकल निर्णय र तानाशाही प्रवृत्ति नछाडेको भन्दै त्यसको विरोधस्वरूप आफू विशेष महाधिवेशनको समर्थनमा पुगेको श्रेष्ठको भनाइ छ।

ad

शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले कांग्रेसभित्र अब तानाशाही प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे। विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नु नै पार्टीको निकास भएको उनले बताए। 'सभापतिले ‘मेरो हस्ताक्षर चल्छ, कसले के गर्छ’ भन्ने शैली अपनाउन थालेपछि मेरो मनले मानेन,' उनले भने, 'त्यसैले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको पहललाई साथ दिने निर्णय गरेँ।'

श्रेष्ठका अनुसार पार्टीभित्र सभापति देउवाको व्यवहार सहन नसक्ने अवस्थामा पुगेको छ। उनले सभापतिमा अहंकार बढ्दै गएको र सहकर्मीको कुरा नसुन्ने प्रवृत्ति हावी भएको आरोप लगाए। 'उहाँको तानाशाही सहनै नसकिने भयो,' श्रेष्ठले भने, 'चेतना आएको देखिँदैन, किन यति धेरै घमण्ड छ, थाहा छैन। साथीभाइको कुरा नसुन्ने, आफ्नै कुरा मात्रै गर्ने अवस्था छ।'

महामन्त्री गगन थापासँग लामो छलफलपछि विशेष महाधिवेशनमा सक्रिय सहयोग गर्ने निर्णयमा पुगेको पनि श्रेष्ठले जानकारी दिए। उनका अनुसार आफ्नै निवासमा करिब एक घण्टा छलफल भएपछि पार्टीको भविष्य नयाँ पुस्ताकै हातमा दिनुपर्ने निष्कर्षमा पुगेका हुन्। 'अब गगनजीहरूकै नेतृत्वमा पार्टी अघि बढोस् भन्ने चाहना हो,' उनले भने।

श्रेष्ठले पार्टी सभापति देउवाले नैतिक जिम्मेवारी वहन गर्दै पदबाट राजीनामा दिनुपर्ने माग पनि गरे। सक्रिय राजनीतिबाट अलग भएर पार्टीलाई नयाँ दिशामा जान दिनु उपयुक्त हुने उनको धारणा छ। 'मैले जे चाह्यो त्यही हुन्छ भन्ने सोचले पार्टी चल्दैन,' उनले भने, 'यदि सभापतिले कार्यवाहक सभापति र अन्य पदाधिकारीलाई जिम्मेवारी सुम्पेर अलग हुने हो भने विशेष महाधिवेशन नीति महाधिवेशन वा घोषणापत्र केन्द्रित महाधिवेशनसमेत हुन सक्छ।'

तर देउवाले राजीनामा नदिए विशेष महाधिवेशनले नै नयाँ नेतृत्व चयन गर्नुपर्ने श्रेष्ठको अडान छ। 'अब पनि किन छाडिरहने ?' उनले प्रश्न गरे, 'पार्टी जोगाउन नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको छ।'

यसअघि लामो समयसम्म देउवालाई साथ दिँदै आएका श्रेष्ठले अहिले त्यो निर्णयप्रति पछुतो लागेको स्वीकार गरे। कार्यवाहक सभापतिको जिम्मेवारी दिने विषयलाई उनले ‘नाटक’को संज्ञा दिँदै, विदेश भ्रमणपछि पनि नेतृत्वमा सुधार नदेखिएपछि आफू दिक्क भएर विशेष महाधिवेशनको पक्षमा खुलेको बताए।

'मैले शेरबहादुर देउवालाई कठिन समयमा धेरै साथ र सहयोग गरेँ,' श्रेष्ठले भने, 'आज आएर ती सबै निर्णयप्रति पछुतो लागेको छ।'