
काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बलियो बन्दै गएको दाबी गरिएको छ । विशेष महाधिवेशन पक्षधर समूहले देशभरबाट हालसम्म २५७१ जना महाधिवेशन प्रतिनिधिले समर्थन जनाइसकेको जनाएको छ ।
पक्षधर समूहका अनुसार सातै प्रदेशका अधिकांश जिल्लाबाट बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । कोशी प्रदेशका १४ वटै जिल्लाबाट ५० प्रतिशतभन्दा बढी प्रतिनिधिले विशेष महाधिवेशनलाई समर्थन गरेको दाबी गरिएको छ । झापा, मोरङ, सुनसरी र उदयपुरजस्ता ठूला जिल्लाबाट उल्लेख्य संख्यामा प्रतिनिधि समर्थनमा उत्रिएका छन् ।
मधेश प्रदेशमा पनि सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारालगायत जिल्लाबाट बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । बागमती प्रदेशमा काठमाडौँ जिल्लाबाट सबैभन्दा धेरै १६१ जना प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ भने चितवन, धादिङ, सिन्धुली, काभ्रेपलाञ्चोकलगायत जिल्लाबाट पनि ठूलो संख्यामा समर्थन जुटेको बताइएको छ ।
गण्डकी प्रदेशका गोरखा, कास्की, बागलुङ र नवलपुरजस्ता जिल्लाबाट उल्लेख्य प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । लुम्बिनी प्रदेशमा रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी र नवलपरासीबाट बहुमत प्रतिनिधिको समर्थन रहेको पक्षधरको दाबी छ ।
कर्णाली प्रदेशका दैलेख, जाजरकोट, डोल्पा, जुम्लालगायत जिल्लाबाट पनि प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेको जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली, अछाम, बाजुरा र कञ्चनपुरसहित अधिकांश जिल्लाबाट समर्थन आएको र दार्चुलाबाहेक सबै जिल्लाबाट बहुमत प्रतिनिधि पक्षमा रहेको दाबी गरिएको छ ।
विशेष महाधिवेशन पक्षधरले आफ्नो पक्षमा आवश्यक बहुमत प्रतिनिधिको समर्थन सुनिश्चित भइसकेको दाबी गर्दै आएका छन् । केन्द्रीय समितिले आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेपछि त्यसलाई चुनौती दिँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरिने जनाइएको छ ।
पार्टीभित्र विशेष महाधिवेशनको वैधानिकता र आवश्यकताबारे बहस तीव्र बनेसँगै कांग्रेसको आन्तरिक राजनीतिले नयाँ मोड लिने संकेत देखिएको छ ।










Facebook Comments