गुल्मी । नेपाली कांग्रेस विशेष महाधिवेशनमा गुल्मीबाट ५४ मध्ये ४८ प्रतिनिधि सहभागी हुनेछन् । यसअघि विशेष महाधिवेशनका लागि ४६ जनाले हस्ताक्षर गरेकामा थप दुई प्रतिनिधि थपिएर ४८ प्रतिनिधि पुगेको हो ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विधानअनुसारको महाधिवेशनमा गुल्मीबाट सहभागी हुने प्रतिनिधि शुक्रबार साँझसम्म ४८ जना पुगेको कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए । यो जम्मा प्रतिनिधिको ८८.८८ प्रतिशत हो ।

ad

गुल्मी कांग्रेसमा संस्थापनइतर पक्षको वर्चस्व छ । यद्यपि यसअघि संस्थापन पक्ष भनिएका महाधिवेशन प्रतिनिधि पनि विशेष महाधिवेशनका लागि नै भनेर काठमाडौं लागेका छन् । गुल्मीमा कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीसहित संस्थापन पक्षका ६ जना मात्रै विशेष महाधिवेशनको विपक्षीमा छन् ।

कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा जिल्ला पार्टी सभापति खिलध्वज पन्थी, उपसभापति अनन्तराम पौडेल, सचिव भगतसिंह खड्का लगायतका महाधिवेशन प्रतिनिधि रहेका छन् । त्यस्तै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीसमेत विशेष महाधिवेशनका पक्षमा छन् ।

गुल्मीबाट दुईवटा क्षेत्रमा जम्मा ५५ जना महाधिवेशन प्रतिनिधि हुन् । जसमध्ये क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिसहित निर्वाचित प्रतिनिधि २६ जना, अपांगतातर्फबाट एक जना र भ्रातृ संस्थाबाट एक जना गरी २८ जना महाधिवेशन प्रतिनिधिमध्ये एक जनाले पार्टी परित्याग गरेका कारण यस क्षेत्रमा २७ जना महाधिवेशन प्रतिनिधि छन् ।