
काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाको ३५ औँ केन्द्रीयसभाको उदघाटन कार्यक्रम शुक्रबार ललितपुरमा भएको छ। ललितपुरको बालकुमारीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न उद्घाटन सत्रमा सरकारी, गैरसरकारी तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ उपस्थित थिइन्। विशेष अतिथिको रूपमा पूर्वमन्त्री तेजुलाल चौधरी रहेका छन् । कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे, नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिका संस्थापक अध्यक्ष डा. सुदीप श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नं १ का वडा अध्यक्ष राजु महर्जन, संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार दिवाकर राजभण्डारी, पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष एवं सल्लाहकार जितबहादुर श्रेष्ठ, निवर्तमान केन्द्रीय अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममार्फत अर्बुद (क्यान्सर) रोग सम्बन्धी जनचेतना, रोकथाम तथा उपचार सेवामा संस्थाले आगामी वर्षका योजना तथा प्राथमिकताहरूका बारेमा छलफल हुने बताइएको छ ।
क्यान्सर रोगबारे जनमानसमा चेतना अभिबृद्धि गर्ने तथा यसका लक्षण र रोगको रोकथाम गर्ने उद्देश्यले २०३९ साल, भाद्र ३१ गते नेपाल अर्बुद रोग निवारण संस्था स्थापना भएको हो । क्यान्सर रोग विरुद्धको अभियानमा समर्पित रहेको यस संस्थाले विभिन्न अन्य संस्थाहरु नेपाल सरकार, स्थानिय तह, विदेशी तथा स्वदेशी संघसंस्थाहरु र नीजी क्षेत्रसँग सहकार्य गर्दै आफ्नो उद्देश्य प्राप्ति प्रति अग्रसर रहँदै आएको छ ।










Facebook Comments