काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले पार्टीको विशेष महाधिवेशनमा सक्रिय रूपमा सहभागी हुन पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेको छ ।

काठमाडौं कांग्रेसका जिल्ला सभापति कृष्ण सबुज बानियाँले सोमबार जारी गरेको विज्ञप्तिमा पार्टी विधानको व्यवस्था अनुसार विशेष महाधिवेशन आह्वान भएकाले यस ऐतिहासिक प्रक्रियामा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरेका छन् ।

ad

विज्ञप्तिमा विभिन्न चुनौतीपूर्ण कालखण्डमा लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै हालको राजनीतिक अवस्थामा पनि पार्टीले अग्रसरता लिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

सभापति बानियाँले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि मुलुक संवैधानिक अन्योलको अवस्थामा पुगेको दाबी गर्दै लोकतान्त्रिक मूल्य र संविधानको संरक्षणका लागि कांग्रेस अग्रमोर्चामा उभिनुपर्ने बताए ।

काठमाडौं जिल्ला समितिका अनुसार पार्टी विधानको धारा १७(२०) बमोजिम ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागका आधारमा पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरिएको हो । यस महाधिवेशनमा सहभागी भई पार्टीको भावी दिशा तय गर्न सबै प्रतिनिधिलाई आग्रह गरिएको छ ।

सभापति बानियाँले विशेष महाधिवेशनमा सहभागी हुन राजधानी आउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गर्दै महाधिवेशन सफल हुने विश्वास व्यक्त गरेका छन् ।