काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दावी गरेका छन् । उनले पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिलो आफू विशेष महाधिवेशनको हलबाट बाहिरिने समेत बताएका छन् ।

विशेष महाधिवेशनलाई लिएर कांग्रेसमा चर्किरहेको विवादका बीच महामन्त्री शर्माले बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु ।’ बदलिएको समयलाई सामना गर्ने गरी बदलिएर जान, केही नयाँ संकल्प लिन, केही नवीन दृष्टि बनाउन, केही नवीन जागरण सिर्जना गर्न विशेष परिस्थिति, विशेष निर्णय, विशेष महाधिवेशन आवश्यक परेको पनि उनले स्पष्ट पारेका छन् । 

ad

महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठ्नु अनावश्यक भएको उनले उल्लेख गरेका छन् । शर्माले पार्टी विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारणसहित लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको स्मरण गराउँदै केन्द्रीय समितिले आवश्यक ठानेन भन्दै विशेष महाधिवेशन रोक्न नमिल्ने जिकीर गरेका छन् । 

विशेष महाधिवेशन आवश्यक पर्नुको कारण उल्लेख गर्दै शर्माले अहिलेको नेपाल भदौ २३ अघिको नेपाल नरहेको स्पष्ट पार्दै समय, परिस्थिति, चुनौती र जिम्मेवारी बदलिएको अवस्थामा पार्टीले एउटै थलोमा उभिएर नयाँ दृष्टि, योजना र संकल्प लिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।