काठमाडौं। ऊर्जामन्त्री कुलमान घिसिङले सरकारबाट राजीनामा नदिने बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले आजका मितिसम्म आफू कुनै पनि दलको सदस्य नरहेको बताएका हुन् ।

पत्रकारहरूले उनलाई सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलको नेताको हैसियत हुँदा पनि किन बसिरहनु भएको भनेर सोधेका थिए । आजका दिनसम्म कुनै पार्टीको सदस्य नभएको स्पष्टिकरण दिँदै उनले सरकारबाट नबाहिरिने अडान लिएका हुन् । ती पत्रकारले आयोजकबाट राजनीतिक प्रश्न गर्न नपाइने भनेर माइक खोस्दा पनि प्रश्न सोधेपछि कुलमानलाई अप्ठ्यारो परेको थियो ।

ad

कुलमानकै पहलमा उज्यालो नेपाल पार्टी दर्ता भएको थियो । उनले उक्त पार्टीको अध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई राखेका थिए ।

उनी उज्यालो नेपालको संगठन विस्तारका लागि देशका विभिन्न भागमा पुगेका पनि थिए । तर अचानक उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा उज्यालो नेपाललाई विलय गराए ।

उनी रास्वपामा सभापति लामिछानेपछिको दोस्रो वरीयता लिएर उपसभापतिको हैसियतमा छन् । उनले आफ्नोतर्फबाट १८ जनालाई समानुपातिक सूचीमा पनि राखेका छन् ।