
काठमाडौं । निर्वाचनका लागि निर्दलीय सरकार बनेपनि केही मन्त्रीहरु दलहरुमा जोडिन थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र खेलकुद मन्त्री बब्लु गुप्ताको राजीनामा माग गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा कुलमानलाई सरकार छाड्न सुझाव दिएको समाचारस्रोतले जनाएको छ । खेलकुद मन्त्री बब्लु गुप्ता पनि रास्वपा र काठमाडौं महानगरका मेयर बालेन्द्र साहको एकता प्रक्रियामा सक्रिय सहभागी भएका थिए ।
सरकार गैरदलीय भएकाले परिस्थिति बुझिदिन प्रधानमन्त्री कार्कीले मन्त्रीद्वय घिसिङ र गुप्तासँग आग्रह गरेकी थिईन् । निर्धारित समयमा नै चुनाव गर्न वातावरण बनाउन कुलमानको भूमिका राम्रो भए पनि अब पार्टीमा जाने अवस्थामा सरकार छाडे राम्रो हुन्छ भनेर प्रधानमन्त्री कार्कीले सुझाव दिएको स्रोतले बताएको छ ।
पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा रहने गरी कुलमानले सहमति गरेपछि उनलाई राजीनामा गर्न दबाब बढेको हो ।









Facebook Comments