काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकतासभामा नेताद्वय बालेन्द्र शाह र कुलमान घिसिङ अनुपस्थित भएका छन् । सभापति रवि लामिछानेसहितका नेताहरू नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता एवं कार्यकर्ता र थरुहट/थारुवान अभियन्ताहरू बीच एकतासभामा उपस्थित छन् ।
उक्त सभामा उपसभापतिहरू डीपी अर्याल, स्वर्णिम वाग्लेलगायत पदाधिकारी उपस्थित हुँदा शाह र घिसिङ मात्रै होइन, उनीनिकट नेताहरू समेत गएका छैनन् । यसअघि घिसिङनिकट नेताहरू रास्वपा केन्द्रीय कमिटीमा मनोनीत भएका छैनन् ।
जबकि दुई शक्तिबिचको सम्झौतामा सम्मानजनक उपस्थिति हुने भनिएको छ । सोमबार बसेको बैठकले शाहनिकट नेताहरू मात्रै केन्द्रीय कमिटीमा मनोनीत भएका छन् । उज्यालो पार्टीका संरक्षक रहेका घिसिङले रास्वपासँग एकता गर्दा उपसभापतिसहित थप एक पदाधिकारी लिने गरी सहमति गरेका थिए । तर, २१ जना केन्द्रीय सदस्य दिने सहमति भए पनि रास्वपामा मनोनीत हुन सकेका छैनन् ।
काठमाडौंमा मात्रै होइन, यसअघि पोखरामा भएको रास्वपाको कार्यक्रममा पनि शाह र घिसिङनिकट नेताहरू अनुपस्थित भएका थिए । पार्टी एक गरेको छोटो समयमै विभिन्न खेमाबाट आएका नेताहरूबीच अझैसम्म पनि तालमेल हुन सकेको देखिएको छैन । उनीहरूबीच खटपट भएको बुझिएको छ ।










Facebook Comments