हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

हेटौँडाबाट काठमाडौँतर्फ आवागमन हुने भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो आज साँझ दुर्घटनामा परेको हो । 

ad

दुर्घटनामा परी घाइते भएका नौ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन । दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीका अनुसार उपचाररत तीन जना घाइतेको अवस्था स्थिर रहेको छ र उनीहरूको हेटौँडा अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।