काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय सबल र स्वतन्त्र नहुन्जेलसम्म नागरिकले ढुक्क भएर बाँच्ने अवस्था नबन्ने बताएका छन् । अदालतलाई लक्षित गर्दै भइरहेका निरन्तर आक्रमण र टिप्पणीले न्यायिक प्रणाली नै कमजोर पार्ने खतरा रहेको उनको भनाइ छ ।

सर्वोच्च अदालतमा आयोजित प्रधान सम्पादक, सम्पादक तथा वरिष्ठ पत्रकारहरूसँगको छलफलमा प्रधान न्यायाधीश राउतले न्यायाधीशमाथि डर सिर्जना हुने अवस्था आए राज्यका आधारभूत अङ्गहरू समेत सुरक्षित नरहने चेतावनी दिए । उनले न्यायालय कमजोर हुँदा प्रेस स्वतन्त्रतामाथि समेत गम्भीर जोखिम पैदा हुन सक्ने बताए ।

ad

'अदालतलाई लक्षित गरी भइरहेका श्रृङ्खलावद्ध प्रहारले न्यायिक प्रणाली नै कमजोर बनाउँदै लगेको छ,' उनले भने, 'न्यायाधीश त्रसित भए राज्यको संरचना नै अस्थिर हुन्छ, त्यसको असर नागरिक र प्रेस स्वतन्त्रतासम्म पुग्न सक्छ ।'

न्यायालय, अदालत र न्यायाधीशलाई केन्द्रमा राखेर सुनियोजित रूपमा आपत्तिजनक टिप्पणी तथा सामग्री प्रकाशन भइरहेको उल्लेख गर्दै प्रधान न्यायाधीश राउतले केही सञ्चार माध्यममा न्यायाधीशको तस्वीर उल्टो पारेर प्रकाशित गरिएको घटनाप्रति पनि आपत्ति जनाए ।

उनले लोकतान्त्रिक व्यवस्थामा आलोचना र टिप्पणी स्वाभाविक भएको भन्दै स्वस्थ र तथ्यमा आधारित आलोचनालाई अदालतले कहिल्यै रोक्न नखोजेको स्पष्ट पारे । तर अतिरञ्जित, नियतबस गरिएको आलोचनाले संस्थाको गरिमामाथि चोट पुर्‍याउने उनको भनाइ थियो ।

प्रधान न्यायाधीश राउतका अनुसार अदालत अत्यन्त संवेदनशील संस्था भएकाले सत्य, तथ्य र प्रमाणका आधारमै फैसला हुने गर्दछ । 'अदालतको प्रक्रिया, विधि र कानुनी मापदण्ड सबैले सहजै बुझ्न नसक्न सक्छन्,' उनले भने, 'तर चित्त नबुझेको अवस्थामा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म जाने संवैधानिक व्यवस्था नै छ ।'

अभिव्यक्ति स्वतन्त्रताको सबैभन्दा ठूलो उपयोग गर्ने वर्ग पत्रकार रहेको उल्लेख गर्दै उनले न्यायालयविरुद्ध घृणा फैलिने हो भने त्यसले न्याय सम्पादन प्रक्रियामै गम्भीर असर पार्ने चेतावनी दिए ।

'हामी आफ्ना कमजोरी सुधार्न तयार छौँ, निरन्तर आत्मसमीक्षा पनि गरिरहेका छौँ,' उनले भने, 'तर नियतबस अदालत र न्यायाधीशको अपमान गर्ने छुट कसैलाई हुँदैन ।'

देश संवेदनशील मोडमा रहेको उल्लेख गर्दै प्रधान न्यायाधीश राउतले आशा, भरोसा र विश्वास जगाउने भूमिकामा सञ्चारमाध्यमको ठूलो जिम्मेवारी रहेको बताए । न्यायालयको गरिमा अभिवृद्धिका लागि स्वस्थ आलोचना र रचनात्मक सुझाव आवश्यक रहेको भन्दै उनले बदनियतपूर्ण टिप्पणीबाट जोगिन सबैलाई आग्रह गरे ।