
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेतामा मनोनीत भएका छन् । आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको विशेष बैठकले शाहलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकबाट बालेनलाई वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय भएको जानकारी दिए । स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन जितेर महानगरको नेतृत्व सम्हाल्दै आएका शाह केही समयअघि रास्वपामा आबद्ध हुन सहमत भएका थिए ।
स्रोतका अनुसार रास्वपाले आगामी आम निर्वाचनपछि शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा समेत सहमति जनाएको छ । यही सहमतिपछि पार्टीभित्र संगठनात्मक समायोजन र नेतृत्व विस्तारको प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।
यसैबीच, रास्वपामा बालेन पक्षबाट महामन्त्रीसहित २७ केन्द्रीय सदस्य समेटिने गरी छलफल भइरहेको छ । आइतबार दुवै पक्षबीच भएको वार्तामा बालेन समूहलाई महामन्त्री पद दिने सहमति भएको एक पदाधिकारीले जानकारी दिए ।
उनका अनुसार महामन्त्रीमा सुनिल लम्साल, सहमहामन्त्रीमा भुपदेव शाह र सहप्रवक्तामा सस्मित पोखरेलको नाम प्रस्ताव गरिएको छ । 'यी नाममै अन्तिम निर्णय हुने सम्भावना छ,' ती पदाधिकारीले बताए ।
महामन्त्रीमा प्रस्तावित लम्साल बालेनका सल्लाहकार टोलीका सदस्य हुन् भने सहमहामन्त्रीमा प्रस्तावित भुपदेव शाह महानगरका स्वकीय सचिव हुन् ।
यसअघि आइतबार दिउँसो बसेको केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट आएका नेताहरूलाई पार्टी संरचनामा समायोजन गरेको थियो । अब बस्ने बैठकले बालेन समूहबाट आएका नेताहरूको समायोजन गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले साँझ सवा ७ बजे बस्ने केन्द्रीय समिति बैठकले पार्टी समायोजन, विस्तार र संगठन सुदृढीकरणसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने जानकारी दिए ।










Facebook Comments