काठमाडौँ । गत भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोग पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमै पुगेको छ । आयोगले तयार पारेका लिखित प्रश्नको ओलीले लिखित रूपमा जवाफ दिएका छन् ।

स्रोतका अनुसार आयोगका कर्मचारीहरू प्रश्नावली लिएर ओली निवास गुण्डु पुगेका थिए । आयोगले सोधेका प्रश्नको जवाफ ओलीले लिखित रूपमा तयार गरी आयोगलाई बुझाएका हुन् । यसअघि ओलीले आयोगमा उपस्थित भएर बयान नदिने अडान लिँदै आएका थिए । उनले आयोग निवासमै आए चिया खुवाएर पठाइदिने टिप्पणीसमेत गरेका थिए ।

ad

ओलीले आफ्नो लिखित जवाफमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । घटनाबारे अध्यक्षले छानबिन सुरु हुनुअघि नै सार्वजनिक रूपमा धारणा व्यक्त गरिसकेको उल्लेख गर्दै ओलीले यस्तो अवस्थामा छानबिनको औचित्य नरहेको तर्क गरेका छन् ।

जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन पूर्वप्रधानमन्त्रीलाई प्रश्नसहितको पत्र पठाएको थियो । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार ओलीसँगै कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि प्रश्नावली पठाइएको हो ।

प्रवक्ता शर्माले ओलीको लिखित जवाफ प्राप्त भइसकेको पुष्टि गर्दै अन्य दुई पूर्वप्रधानमन्त्रीको जवाफ आउन बाँकी रहेको जानकारी दिए । 'पूर्वप्रधानमन्त्रीज्यूहरूको मर्यादा कायम हुने गरी हामीले लिखित प्रश्नमार्फत जानकारी मागेका हौँ,' उनले भने, 'ओलीज्यूको जवाफ आइसकेको छ, बाँकीको प्रक्रिया जारी छ।'

ओलीलाई केही दिनअघि नै आयोगको पत्र प्राप्त भएको र सोही आधारमा जवाफ तयार गरिएको उनका सचिवालय सदस्य तथा एमाले केन्द्रीय सदस्य किरण पौडेलले बताए । 'आयोगबाट पत्र ल्याउने व्यक्तिले नै जवाफ पनि लिएर जानुभएको हो,' उनले भने ।

आयोगले लिखित जवाफका आधारमा घटनाको तथ्य संकलन र विश्लेषण अगाडि बढाउने जनाएको छ ।