
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट पदाधिकारी र पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकालेका छन् ।
आइतबार सभापति देउवाले बोलाएको छलफलमा नेताहरूले महामन्त्रीद्वयको भूमिकाबारे ने प्रश्न उठाउँदै विशेष महाधिवेशनको औचित्य सकिएको बताएका हुन् ।
छलफलबारे जानकारी दिँदै नेता विमलेन्द्र निधिले कार्यसम्पादन समिति बैठकमा भएका निर्णयहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति देउवालाई जानकारी गराएको बताए । साथै विशेष महाधिवेशनको औचित्य समाप्त भएको र निर्वाचन केन्द्रित हुनुपर्ने निष्कर्ष बैठकको रहेको उनले बताए ।
बैठकमा सहभागी अर्का एक नेताले दिएको जानकारीअनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खेलेको भूमिकाप्रति बैठकमा प्रश्न उठेको छ ।
महामन्त्रीद्वयको काम विधानले नै केन्द्रीय समिति र कार्यसम्पादन समिति बैठकले गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने भएको भन्दै विशेष महाधिवेशन गर्छु भन्दै हिँड्ने कार्य गलत भएको निष्कर्ष बैठकले निकालेको उनले बताए ।
‘कार्यसम्पादन समितिले विशेषको औचित्य समाप्त गरिसकेको छ,’ ती नेताले भने, ‘महामन्त्रीद्वयको भूमिका विधानअनुसार बैठकका निर्णयहरू कार्यकर्तासम्म कार्यान्वयन गराउनु हो । आफ्नै निर्णय गर्दै हिँड्ने होइन ।’
देउवा निवासको छलफलले आगामी वैशाखमा हुने महाधिवेशन सफल पार्न पार्टीका निर्णय कार्यान्वयनमा लाग्ने निर्णय गरेको ती नेताले बताए ।
‘अहिले संविधान र व्यवस्था जोगाउन चुनाव जित्न लाग्नु छ,’ ती नेताले थपे, ‘अहिले पार्टीमा विशेष भन्दै फुट ल्याउने समय होइन ।’
सोही बैठकले सोमबार दिउँसो १ बजे बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय गर्दै बैठक पनि आह्वान गरिसकेको छ।










Facebook Comments