
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) ले आज काठमाडौंमा आयोजना गरेको ५८ औं वार्षिक साधारणसभा तथा कार्यक्रम पर्यटन क्षेत्रका समसामयिक चुनौती र सम्भावनामाथि केन्द्रित रहेको छ ।
कार्यक्रममा पर्यटन व्यवसायीहरूले नेपाललाई ‘बेटर डेस्टिनेसन’ मात्र नभई ‘इजी डेस्टिनेसन’का रूपमा विकास गर्न सरकारी नीतिगत सुधार, पूर्वाधार सुदृढीकरण र सेवा प्रक्रियाको सरलीकरण आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा सहभागी वक्ताहरूले भिसा प्रक्रिया, अन्तर्राष्ट्रिय हवाई पहुँच, आन्तरिक उडानको विश्वसनीयता, डिजिटल प्रवद्र्धन र निजी–सरकारी सहकार्य कमजोर हुँदा पर्यटन अपेक्षित रूपमा फस्टाउन नसकेको उल्लेख गरे।
कार्यक्रममा पछिल्ला वर्षहरूमा पर्यटन क्षेत्रले कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय राजनीतिक अस्थिरता र आन्तरिक नीतिगत अन्योलका कारण ठूलो क्षति व्यहोरेको भन्दै पर्यटन व्यवसायीहरुले सरकारबाट राहत, सहुलियत कर्जा र कर नीतिमा पुनरावलोकन गर्न माग गरियो। पर्यटन व्यवसायीहरूले नीति स्थायित्व नहुँदा दीर्घकालीन लगानी जोखिमपूर्ण बन्दै गएको गुनासो पनि गरे ।
नाट्टाले आगामी दिनमा पर्यटन व्यवसायलाई प्रतिस्पर्धी, सुरक्षित र सहज बनाउने उद्देश्यसहित ठोस पहल अघि बढाउने प्रतिबद्धता जनाएको छ । नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले नेपाललाई केवल ‘बेटर डेस्टिनेसन’ होइन, ‘इजी डेस्टिनेसन’ पनि बनाउनुपर्नेमा जोड दिंदै यसका लागि भिसा प्रक्रिया सरल बनाउनु, व्यवसाय सञ्चालन सहज बनाउन प्रशासनिक र कर प्रणाली सुधार गर्नु, र अन्तर्राष्ट्रिय बजारमा नेपालका पर्यटन गन्तव्यहरूको प्रचार विस्तार गर्नु जरुरी भएको स्पष्ट पारे ।
कार्यक्रममा बागमती प्रदेशका र्सस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ र संघीय सरकारका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।









Facebook Comments