काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको बिषयमा देखिएको विवादका बारेमा छलफल गर्न आज दिउँसो पदाधिकारी बैठक बोलाइएको छ ।

केही दिन अगाडि बसेको कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेपछि कांग्रेसमा थप विवाद चुलिएको छ । 

ad


उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका छन् । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । 

महामन्त्रीद्वय थापा र शर्माले कार्यसम्पादन समिति बैठकपछि पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन गर्न गृहकार्य समेत शुरु गरिसकेका छन् । 

कांग्रेस विधानको दफा १७ (२) ले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने प्रावधान रहेको छ । गत असोज २९ गते झण्डै ५५ प्रतिशत अर्थात २४८८ प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा लिखित प्रस्ताव दर्ता गरेका थिए । ३ महिनाको अवधि पुस २८ गते सकिँदैछ ।