वद्रीनारायण गौतम

राजनीतिक विश्लेषक

ad

अहिले नेपाली कांग्रेसको अवस्था ठ्याक्कै कसरी विश्लेषण गर्ने ? 

नेपाली कांग्रेसको ठ्याक्कै अवस्था भन्ने हो भने मैले भाँडभैलो भन्न रुचाउँछु । किनभने विधान एकातिर काम अर्कोतिर र मैले योभन्दा पहिला धेरैचोटि पनि भन्दै आएको छु  । कांग्रेसमा जुन सत्ता बित्यो परिवर्तन थियो त्यो झन् चरम विकृतितर्फ गयो । कांग्रेसले समयको माग बुझ्न सकेन र त्यसमा अहिले पनि कसरी सत्ता आफूमा केन्द्रित गर्ने ? र कसरी आफ्ना मान्छेहरूलाई अगाडि ल्याउने र अनि त्यसपछि गएर पार्टी कब्जा गर्ने भन्ने रणनीति नै रहेको देखिन्छ ।

अहिलेको अवस्थामा विशेष महाधिवेशनको एकदमै चर्चा छ  । यो अवस्थामा कांग्रेसको भविष्य कस्तो देख्दै हुनुहुन्छ ?

कांग्रेसको भविष्य त अझ नराम्रो हुन्छ कि जस्तो लाग्या छ मेरो मेरो दृष्टिकोणबाट । अब बीपीजस्तो करिस्मेटिक नेता पनि छैन र नेतृत्व वर्गले साँच्चै भन्ने हो भने पार्टीलाई कसरी जोगाउने कसरी माथि लाने भन्नेतर्फ नेतृत्व पनि लागेको छैन । नेतृत्व एउटा कोटरीको, एउटा ग्रुपको आफ्नो पक्षको पक्षपोषण पृष्ठपोषणमा लागेको देखिन्छ । किनभने पार्टी नेतृत्वले त विषको प्याला पिएर पनि त निर्णय गर्न सक्नुपर्छ नि त । बीपीले धेरै अप्ठ्यारो अवस्थामा निर्णय गरेर पार्टीलाई हुर्काएको हो । पछि गिरिजाबाबुमा उहाँको पनि कमजोरी त थियो । तर यो किसिमको भाँडभैलो थिएन । अहिले त पूरै भाँडभैलोमा गएको देखिन्छ । अहिले कोही कसैको नियन्त्रणमा छैन । पार्टीले न विधान मान्छ न नियमअनुरूप चल्छ । उही एकपक्षीय रूपमै चलिरहेको छ । पार्टीले समयको पदचाप नै बुझ्न सकेको छैन । 

अहिलेको अवस्थामा के गर्ने त ?

आमकार्यकर्ताहरू, बुद्धिजीवीहरू नेपाली कांग्रेसका शुभेच्छुक छन्,  हो तिनीहरू सबैको एउटा बृहत भेलाको जरुरी मैले देख्या छु । भेलामार्फत उनीहरूले विधानअनुसार पार्टी चल्नुपर्छ भनेर नेतृत्वलाई दबाब दिनुपर्छ । त्योबाहेक अरू विकल्प छैन । अहिलेको अवस्थामा नेतृत्व वर्ग सच्चिने अवस्था मैले देख्दै देख्दिन । 

न सच्चिनुको कारण के हो त ?

कारण गुटबन्दी हो । अब कति कुरा बाहिर भन्न मिल्छ कति मिल्दैन । मूल कुरो, नेतृत्व गर्ने व्यक्तिदेखि पार्टी कब्जा गर्ने जुन रणनीतिमा मान्छे लागेका छन् उनीहरूको आफ्नो आफ्नो सोचाइ र आफ्नो दृष्टिकोण भयो । उनीहरू कसरी आफ्नो पक्ष बलियो बनाउने भन्नेमै केन्द्रित भए । किनभने मुलुक देश र प्रजातन्त्र भन्ने कुरोलाई ध्यानमा भन्दा अरू कुरामा ध्यान दिइयो । 

अहिलेको अवस्थामा ५४ भन्दा बढी प्रतिशतले विशेष महाधिवेशन भनिराखेर हस्ताक्षर बुझाइसके तर नेतृत्वले वैशाखको नियमित महाधिवेशनको कार्यतालिका ल्याउँछ  । महामन्त्रीहरू त्यही बैठकमा हुनुहुन्छ  । निर्णय एउटा हुन्छ  । बाहिर आएर अर्को बोल्नुहुन्छ  । उहाँहरूप्रति शंका गर्ने कि नगर्ने ? 

शंका सबैप्रति गर्नुपर्छ । अहिले शंकाको घेराबाट कोही पनि उम्किन सक्दैन । पार्टीको विधान, नीति, नियम, आचरण एउटा हुन्छ । समयको पदचाप अर्को हुन्छ । त्यो दुइटालाई मिलाएर निर्णय गर्न सक्नुपर्छ नेतृत्वले । भित्र एउटा कुरा गर्ने, बाहिर एउटा कुरा गर्ने जुन प्रवृत्ति छ यो पार्टीलाई ध्वस्त गर्ने तर्फको प्रक्रिया हो जस्तो मलाई लाग्छ । 

विशेष महाधिवेशन भए कांग्रेस पार्टी एक हुन्छ अथवा फुट्छ ?

विशेष महाधिवेशन पनि त्यो अन्तरआत्मादेखि नै सबैले स्वीकार गरेर आउनुपर्छ । र अब अहिलेको समयको माग बुझेर एकाकारको स्थिति आउनुपर्‍यो नि त त्यो त मैले देख्या छैन । एकाकारको स्थिति नहुँदा विशेष महाधिवेशन भए पनि त्यही हो नियमित भए पनि त्यही हो । 

यसको कुनै तात्विक भिन्नता छैन ? 

छैन, छैन तात्विक अन्तर पर्नेवाला छैन ।

नेपाली कांग्रेसको आन्तरिक कलहले साँच्चिकै नेपालको राजनीतिमा कस्तो प्रभाव पार्छ ?

नेपालको राजनीतिमा यसले धेरै प्रभाव पार्छ । किनभने नेपाली कांग्रेसको एउटा यस्तो पार्टी हो, जसले राष्ट्रियताको संरक्षण संवद्र्धनदेखि लिएर प्रजातन्त्रको संरक्षण र विकासमा अहम् भूमिका खेल्दै आएको छ । नेपाली कांग्रेस हुँदैनथ्यो भने आजसम्म देशको स्थिति के भइसक्थ्यो त्यो तपाईं–हामी र जोकोहीले पनि बुझेको कुरा हो । अप्ठ्यारो अवस्थामा मुलुकलाई निकास दिने नेपाली कांग्रेस नै हो । अहिले नेपाली कांग्रेस आफैँ दलदल र विवादको भासमा फसेको छ । त्यसले गर्दा यसले झन् देशको भविष्य प्रजातन्त्रको भविष्यमा नै एउटा प्रश्नचिह्न झन् टड्कारो रूपमा देखा पर्दछ ।

अब चुनाव गर्नुपर्नेछ । यतिबेला कांग्रेसभित्रको यत्रो रडाकोले राजनीति सरल बाटैमा छ कि फेरि बांगोटिंगो ? 

राजनीति सरल र सहज अवस्थामा छैन । अन्तर्राष्ट्रियरूपमा नेपाल जहिले पनि एउटा भूराजनीतिको संवेदनशील भूभाग हो । र यहाँका हरेक घटनाक्रमलाई हामीले नेपाली राष्ट्रियता भन्दा अलिकति पर गएर हेर्नै पर्ने हुन्छ आजसम्मको अनुभवमा दृष्टिकोण र परिणाममा । अहिले पनि मैले त अन्तर्राष्ट्रिय चलखेल र भूराजनीतिको जटिलताअनुरूप कांग्रेस पनि अगाडि नबढेको देख्छु र अनि त्यसपछि गएर बाह्य तत्वहरू त के त भन्नुहुन्छ भने त्यही अस्थिरतामा सल्बलाउन खोज्ने तत्वहरू एकदमै एक्टिभ भएको देखिन्छ ।

अब अहिले नयाँ शक्तिहरू एक ठाउँमा आएको बेलामा कांग्रेसभित्रको यो राजनीतिले कहाँ पुर्‍याउँछ देशलाई ?

कांग्रेस भित्रको यो राजनीतिक संकटले त देशलाई झन् भड्खालामा हाल्छ जस्तो मलाई लाग्छ । प्रजातन्त्रको संरक्षण, संवद्र्धन र विकासदेखि मुलुकको अस्थिर स्थितिलाई चिर्ने शक्ति भनेको नेपाली कांग्रेस हो । अरू भनेका त्यस्तै हुन् । अरू दलका बारेमा धेरै टिप्पणी नगरौँ । सबैले अनुभव गरेको कुरा हो । नेपाली कांग्रेस चरम गुटबन्दीतर्फ लागिसकेपछि झन् एकदम अप्ठ्यारो परिस्थिति आउने परिवेश देखिन्छ ।