
काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको पछिल्लो निर्णयले अहिले संस्थापनइतर पक्षलाई तरंगित गराएको छ । कार्यसमितिको म्याद आगामी असार ६ गतेसम्म रहेकोमा संस्थापन पक्ष पंकजविक्रम राईले माघ २८ गते अर्ली इलेक्सनको घोषणा गरेका छन् ।
एन्फा विधानमा स्पष्ट रूपमा ‘अर्ली इलेक्सन’को परिकल्पना नगरिए पनि कार्यसमितिले विधानको धारा ३१ को ‘त’ लाई आधार मानेर निर्वाचनको घोषणा गरेको हो । उक्त धाराले नियमित निर्वाचन वा पद रिक्त भएको अवस्थाको निर्वाचनलाई मात्र संकेत गर्ने बताउँदै इतरपक्षले अहिले घोषणा गरिएको अर्ली इलेक्सन विफल बनाउनुपर्नेमा जोड दिएका छन् ।
एन्फाको विधानअनुसार कार्यसमितिको कार्यकाल ४ वर्ष तोकिएको र राष्ट्रिय खेलकुद विकास ऐनले पनि सोही समयसीमा निर्धारण गरेको अवस्थामा, कार्यकाल बाँकी छँदै निर्वाचनमा जानुले कानुनी जटिलता निम्त्याउने जोखिम देखिएको फुटबल क्षेत्रका जानकारहरू बताउँछन् ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार, कार्यसमितिले सुरुदेखि नै काम गर्ने वातावरण नपाएको र आन्तरिक विवादका कारण फुटबल विकासमा बाधा पुगेकाले ‘फ्रेस म्यान्डेट’ लिन खोजिएको हो । विपक्षीले अविश्वासको प्रस्ताव ल्याउनेदेखि हरेक कार्यमा अवरोध सिर्जना गरेकाले विवाद टुंग्याउने लोकतान्त्रिक उपायका रूपमा निर्वाचनलाई प्रस्तुत गरिएको छ ।
तर, एन्फाकै पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा रहेको इतरपक्षले अली इलेक्सनलाई अवैधानिक र स्वार्थप्रेरित भनेर आरोप लगाएको छ ।
विपक्षीलाई तयारी गर्ने समय नदिई अचानक निर्वाचन घोषणा गरेर शक्ति हत्याउने रणनीतिको रूपमा व्याख्या गर्दै सन् २०२६ को फिफा विश्वकपअघि नै पद सुरक्षित गरेर विश्वकप भ्रमण र सुविधा सुनिश्चित गर्ने दाउमा वर्तमान कार्यसमिति लागेको शेर्पाले बताए । यसैगरी जिल्लादेखि केन्द्रसम्मको ‘टप टु बटम’ नयाँ निर्वाचन नभई गरिने केन्द्रको निर्वाचनले वैधानिकता नपाउने र आगामी दिनमा अदालतमा जाने चेतावनी पनि दिएका छन् । पछिल्लो समय नेपाली फुटबल मैदानमा भन्दा बाहिर खेलिँदा स्तर त खस्किएको छनै, खेलाडीहरू पनि निरन्तर विदेशीन बाध्य भइरहेका छन् ।
एन्फाले माघ २८ गते झापामा अर्ली इलेक्सन गर्ने गरी घोषणा गरेको मिति र त्यसपछिका जटिलताबारे अब फिफा, एफसी र राखेपको निर्णयमा भर पर्ने छ । ती निकायहरूले एन्फाले गर्न लागेको निर्वाचनलाई वैधता नदिएको खण्डमा नेपाली फुटबलमा झनै पहिरो जाने पक्का रहेको बुझिएको छ ।










Facebook Comments