
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा साविक उज्यालो नेपाल पार्टी सहभागी भएन। रास्वपाका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रममा दुई हजारभन्दा बढी व्यक्तिले पार्टी प्रवेश गरेको रास्वपाको दाबी छ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, मिलन थापा तथा नेकपा एमालेका नेता पुष्प अधिकारीलगायत विभिन्न दल परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए। तर एकता प्रक्रियामा रहेको उज्यालो नेपाल पार्टी भने कार्यक्रममा उपस्थित भएन।
उज्यालो नेपालका प्रदेश संयोजक मनराज गुरुङले पार्टी एकताको सांगठानिक र प्राविधिक प्रक्रिया टुंगोमा नपुगेकाले कार्यक्रममा सहभागिता जनाउन नसकिएको जानकारी दिए। उनका अनुसार केन्द्र तहमा सहमति भए पनि समायोजनको स्पष्ट खाका तयार नभएसम्म रास्वपाको ब्यानरमा हुने कार्यक्रममा सहभागी नहुने पार्टीको निर्णय थियो।
'केन्द्रमा सहमति भए पनि माथिदेखि तलसम्म कसरी समायोजन गर्ने भन्ने विषय स्पष्ट भइसकेको छैन,' गुरुङले भने, 'पार्टी नेतृत्वबाटै अहिले नै सहभागी नहुन निर्देशन आएको थियो।'
पार्टी एकताको औपचारिक घोषणा भइसकेपछि पनि उज्यालो नेपालभित्र केही असहमति देखिएको बताइन्छ। रास्वपाले कार्यक्रममा निम्तो दिए पनि आवश्यक सांगठानिक र प्राविधिक विषय टुंगिएपछि मात्र संयुक्त अभियानमा सहभागी हुने उज्यालो नेपालको अडान रहेको गुरुङले स्पष्ट पारे।
'अहिले रास्वपा आफ्ना नियमित गतिविधिमा अघि बढिरहेको छ,' उनले भने, 'हाम्रो तर्फबाट एकीकरणलाई व्यवहारमा उतार्ने विषयमा छलफल जारी छ। सबै कुरा स्पष्ट भएपछि समायोजनसहित अभियानमा होमिनेछौँ।'










Facebook Comments