काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्दै एकतर्फी निर्णय अघि बढाए गम्भीर राजनीतिक दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन्। केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको समय सार्दै आगामी वैशाखमा पुर्‍याउने निर्णय गरेपछि असन्तुष्टि जनाउँदै उनले नेतृत्वको शैलीप्रति कडा आपत्ति जनाएका हुन्।

विशेष महाधिवेशनको मागसहित देशव्यापी हस्ताक्षर अभियानमा सक्रिय घिमिरेले शनिबार सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वलाई सचेत गराएका छन्। उनले नेतृत्वले आन्तरिक असन्तुष्टिलाई बेवास्ता गरेर अघि बढ्न नसक्ने स्पष्ट पारेका छन्। 'विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व एकोहोरो ढंगले अघि बढ्न सक्दैन,' उनले उल्लेख गरेका छन्, 'यदि जबरजस्ती निर्णय लाद्ने प्रयास गरियो भने त्यसबाट उत्पन्न हुने कुनै पनि राजनीतिक दुर्घटनाको जिम्मेवारी स्वयं नेतृत्वले लिनुपर्छ।'

ad

घिमिरेले कांग्रेसको ऐतिहासिक योगदानको स्मरण गर्दै पार्टीले ७५ वर्षअघि देशबाट हुकुमी शासनको अन्त्य गरेको भए पनि अहिले पार्टीभित्रै त्यस्तै प्रवृत्ति देखिन थालेको आरोप लगाएका छन्। उनका अनुसार पार्टी विधान, पद्धति र सामूहिक नेतृत्वभन्दा पनि व्यक्तिको चाहनाअनुसार निर्णय हुन थालेको छ, जुन लोकतान्त्रिक मूल्यविपरीत हो।

नेतृत्वप्रति कटाक्ष गर्दै उनले पार्टीका समर्पित सदस्य र योगदान दिएका नेताहरूलाई ‘रैती’झैँ व्यवहार गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन्। 'लोकतान्त्रिक पार्टीलाई निजी जमिन्दारी वा घरेलु मामिलाजस्तो ठान्ने सोच सर्वथा निन्दनीय छ,' घिमिरेको टिप्पणी छ। यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने र कार्यकर्तामा निराशा फैलाउने उनको भनाइ छ।

देशको जटिल राजनीतिक अवस्थामा कांग्रेसले एकताबद्ध भएर जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै घिमिरेले त्यसको आधार विशेष महाधिवेशन भएको बताए। पार्टीभित्र देखिएका विवाद, असन्तुष्टि र संगठनात्मक समस्याको समाधान संवाद र विधिसम्मत प्रक्रियाबाट मात्र सम्भव हुने उनको धारणा छ।

उनले नेतृत्वलाई विधानको सम्मान गर्दै आन्तरिक लोकतन्त्र सुदृढ बनाउन आग्रह गरेका छन्। विशेष महाधिवेशन कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई पार्टीलाई सही दिशामा लैजान आवश्यक भएको भन्दै उनले समयमै माग सम्बोधन नगरे त्यसको असर पार्टीको भविष्यमा गम्भीर रूपमा पर्ने चेतावनी दिएका छन्।