
काराकस। भेनेजुएलाको राजधानी काराकससहित विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि देशमा तनाव बढेको छ। भेनेजुएला सरकारले अमेरिकी आक्रमणका कारण नागरिक तथा सैनिक क्षेत्रहरू प्रभावित भएको आरोप लगाएको छ। करिब ३० मिनेटको अन्तरालमा विस्फोट भएको र केही स्थानमा विद्युत् सेवा अवरुद्ध भए पनि मुख्य सडकमा सवारी आवागमन भने सामान्य रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
राजधानीको एक सैन्य क्षेत्रबाट धुवाँ उडेको देखिएको बताइएको छ। स्थानीय बासिन्दा २१ वर्षीया कारमेन हिडाल्गोले भनिन्, “जमिन हल्लिएजस्तो लाग्यो। विस्फोटको आवाज र आकाशमा उडिरहेका विमान देख्दा निकै डर लाग्यो।”
यसैबीच, राष्ट्रपति निकोलस मादुरोले यस घटनालाई ‘साम्राज्यवादी आक्रमण’ को संज्ञा दिँदै आफ्ना समर्थकहरूलाई सडकमा उत्रन आह्वान गरेका छन्। सरकारले सबै राष्ट्रिय सुरक्षा योजना लागू गर्दै देशभर बाह्य सङ्कटको घोषणा गरेको छ।
अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी सेनाले ठूलो सैन्य कारबाही गरेको र त्यस क्रममा राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको दाबी गरेका छन्। ट्रम्पको उक्त दाबीबारे भेनेजुएला सरकारले तत्काल प्रतिक्रिया नदिएको भए पनि सरकारी स्रोतहरूले यसलाई आधारहीन र राजनीतिक दबाब सिर्जना गर्ने प्रयास भएको बताएका छन्।
भेनेजुएलाको वामपन्थी सरकारले अमेरिकाले सरकार परिवर्तन गर्ने र देशका तेल तथा खनिज स्रोतमा पहुँच बनाउने उद्देश्यले आक्रमण गरेको आरोप लगाएको छ। यसअघि क्यारिबियन क्षेत्रमा लागूऔषध तस्करीविरुद्ध कारबाहीको नाममा अमेरिकी गतिविधि बढेको भन्दै काराकसले आपत्ति जनाउँदै आएको थियो।
अमेरिकी सञ्चारमाध्यमहरूले क्षेत्रमा सैन्य गतिविधि बढेको उल्लेख गरे पनि ह्वाइट हाउस र पेन्टागनले औपचारिक टिप्पणी गरेका छैनन्। घटनाक्रमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको छ र दुवै पक्षबाट आउने आधिकारिक विवरणको प्रतीक्षा भइरहेको छ।









Facebook Comments