
काठमाडौं । जेनजी प्रतिनिधिहरूले कांग्रेस महामन्त्री गगन थापासँग भेटघाट गरेका छन्।
आगामी निर्वाचनअघि जेनजी आन्दोलनका एजेन्डालाई राजनीतिक दलहरूको साझा प्रतिबद्धता बनाउनुपर्ने मागसहित शुक्रबार जेनजी प्रतिनिधिहरू रक्षा बम, प्रदीप ज्ञवाली, युजन राजभण्डारी, उपार्जुन चाम्लिङ र माजिद अन्सारीले गगनसँग भेट गरेका हुन् ।
करिब डेढ घण्टा चलेको उक्त भेटघाटमा जेनजी प्रतिनिधिहरूले सरकारसँग भएको सम्झौता र नागरिक समाजले अघि सारेको आन्दोलनको म्यान्डेटबारे थापाको ध्यानाकर्षण गराएका थिए।
भेटमा सहभागी जेनजी प्रतिनिधिका अनुसार, आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका मुद्दा दलहरूले कसरी अपनत्व लिन्छन् भन्ने विषयमा केन्द्रित रहेर संवाद भएको थियो।
‘हामीले उठाएको मुद्दा कुनै व्यक्तिको होइन, यो सडकको म्यान्डेट हो,’ रक्षा बमले भनिन्, ‘जसले जिते पनि वा जसले हारे पनि देशले जित्नुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो। निर्वाचनमा जानुअघि सबै दलहरूलाई आन्दोलनको मर्म बुझाउन हामीले यो पहल थालेका हौं।’
उनले थापासँगको भेटघाटमा दलहरूले भ्रष्टाचार विरूद्ध पार्टीभित्र कसरी काम गरिरहेका छन् भन्नेबारे पनि जिज्ञासा राखेको बताइन्।
जबाफमा महामन्त्री थापाले आन्दोलनका मुद्दाहरूलाई सकारात्मक रूपमा लिँदै यसलाई सुध्रिने अवसरका रूपमा व्याख्या गरेका थिए।
भदौ २३ र २४ गतेका घटनाहरूमा दलहरूको कमजोरी रहेको स्वीकार गर्दै थापाले ती कमजोरी सुधार्दै अघि बढ्नुपर्ने बताएका थिए।
‘आन्दोलनको यो म्यान्डेट खेर जान दिनु हुँदैन, यसलाई दलहरूले बुझ्नुपर्छ,’ भेटमा थापाले राखेको भनाइ उद्धृत गर्दै अर्का जेनजी प्रतिनिधिले भने, ‘यसलाई अपराधीकरण गर्नुभन्दा पनि एउटा स्पष्ट मार्गचित्र बनाउन सहयोग पुग्ने गरी अघि बढाउनुपर्छ।’
भेटमा सहभागी जेनजी प्रतिनिधिहरूको टोलीले छिट्टै नै इन्टर पार्टी डायलग (अन्तर–दल संवाद) आयोजना गर्ने र त्यसमा नागरिक समाजका प्रतिनिधिहरूलाई समेत सहभागी गराउने योजना बनाएको छ।
आगामी निर्वाचनमा आन्दोलनमा उठेका भ्रष्टाचार र स्थिरताका मुद्दाहरू ओझेलमा नपरून् भनेर आफूहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत अन्य दलहरूसँग पनि संवाद अघि बढाउने उनीहरूले बताएका छन्।










Facebook Comments