
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले यससम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले समय अभाव र तयारी पूरा हुन नसकेकाले यसअघि पुस २६ देखि २८ गतेसम्म तय गरिएको महाधिवेशनको मिति सारेर वैशाखमा पुर्याइएको बताए। पुसमै महाधिवेशन गर्न सम्भव नदेखिएपछि संशोधित कार्यतालिका अनुमोदन गरिएको उनको भनाइ छ।
संशोधित तालिकाअनुसार गाउँ तथा नगर वडा अधिवेशन २०८२ चैत २१ गते, गाउँ तथा नगरपालिकास्तरीय अधिवेशन चैत २५ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन चैत २८ गते हुनेछ। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा वैशाख २ गते र दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा वैशाख ५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको छ। प्रदेश अधिवेशन वैशाख १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुनेछ।
प्रवक्ता महतले गत मंसिर १५ गते केन्द्रीय कार्यसमितिबाट महाधिवेशनसम्बन्धी निर्णय भइसकेपछि विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गरे। “अब पार्टी नियमित १५औँ महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेको छ,” उनले भने। आगामी फागुन २१ गते हुने आमनिर्वाचनका कारण वैशाखभन्दा अघि महाधिवेशन गर्न सम्भव नभएको पनि उनले स्पष्ट पारे।
यद्यपि, उक्त निर्णयप्रति महामन्त्री गगनकुमार थापाले फरक मत राखेका छन्। उनले केन्द्रीय कार्यसम्पादन समितिको बहुमतले निर्णय पारित गरे पनि आफू सहित चार–पाँच जना नेताको असहमति रहेको जानकारी दिए। थापाका अनुसार असोज २९ गते केन्द्रीय कार्यालयमा दर्ता भएको विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव पार्टी विधानअनुसार कार्यान्वयन हुनुपर्ने थियो।
महामन्त्री थापाले पार्टी विधानको धारा १७ अनुसार केन्द्रीय महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले लिखित अनुरोध गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको उल्लेख गरे। विशेष महाधिवेशन नगरी केन्द्रीय समितिको पदावधि मात्रै थप्ने निर्णय विधानसम्मत नभएको उनको तर्क छ।
उनले अझै केही समय बाँकी रहेकाले विशेष महाधिवेशन बोलाउने अपेक्षा आफूहरूको रहेको बताए। विधानको पालना नगर्ने अवस्था आएमा महामन्त्रीको हैसियतमा आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी पनि थापाले दिएका छन्।










Facebook Comments