काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यससम्बन्धी प्रस्ताव पारित गरेको हो।

पार्टी प्रवक्ता प्रकाशशरण महतले हाल पुस २६ देखि २८ गतेसम्मका लागि तय गरिएको महाधिवेशन समय अभाव र तयारी नपुगेकाले सारेर वैशाखमा गर्ने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार संशोधित कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिबाट औपचारिक रूपमा स्वीकृत भएको छ।

ad

कांग्रेसले यसअघि २०८२ मंसिर १५ गते केन्द्रीय कार्यसमितिबाट १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत् रूपमा पारित गरिसकेको थियो। सोही कार्यतालिकाअनुसार प्रक्रिया अघि बढिसकेको अवस्थामा ‘विशेष महाधिवेशन’को माग स्वतः औचित्यहीन भइसकेको निष्कर्ष बैठकले निकालेको प्रवक्ता महतले बताए।

बैठकले महाधिवेशनअघि गर्नुपर्ने अनिवार्य प्रक्रिया, विशेषतः क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण अझै समयमै सम्पन्न हुन नसकेको अवस्था रहेको उल्लेख गरेको छ। वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको प्रक्रिया अघि बढाउन क्रियाशील सदस्यताको अन्तिम सूची आवश्यक हुने भएकाले कार्यतालिका संशोधन गरिएको जनाइएको छ।

त्यसैगरी, २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका सबै तह, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र विदेशस्थित जनसम्पर्क समितिहरूलाई निर्वाचनमा केन्द्रित हुन आह्वान गरिएको छ। पार्टीले आगामी निर्वाचनमा कांग्रेसको पक्षमा बहुमत दिलाउन सम्पूर्ण नेता–कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेको छ।

संशोधित कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन २०८२ चैत २१ गते, पालिका अधिवेशन चैत २५ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन चैत २८ गते र जिल्लास्तरीय अधिवेशन २०८३ वैशाख २ र ५ गते सम्पन्न हुनेछन्। प्रदेश अधिवेशन वैशाख १० देखि १२ गतेसम्म हुने र केन्द्रीय महाधिवेशन वैशाख २८, २९, ३० र ३१ गते काठमाडौँमा आयोजना हुनेछ।

यसैबीच, विशेष परिस्थितिलाई ध्यानमा राख्दै पार्टी विधानको धारा ४३ बमोजिम कांग्रेसका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८३ ज्येष्ठ मसान्तसम्म थप गरिएको निर्णय पनि बैठकले गरेको छ।