
काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले पार्टीसँग अब विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् ।
आज अनामनगरस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले कार्यतालिका अनुसार नियमित महाधिवेशन नगरेकाले विशेष महाधिवेशन अनिवार्य भएको जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा कांग्रेस नेता देवराज चालिसेले नियमित महाधिवेशन हुन नसकेकाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताए ।
उनले पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्ने विश्वास समेत व्यक्त गरे । अर्का नेता सुभाष पोखरेलले विशेष महाधिवेशन ऐच्छिक होइन, बाध्यकारी भएको बोलाउनै पर्ने बताए । पोखरेलले आफूहरू पार्टी विभाजन गर्ने पक्षमा नरहेको भन्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन विशेष महाविधेशन माग गरेको पनि स्पष्ट पारे ।
विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो । यो कसैको छनोटको विषय होइन, रहेन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नो विधानको वाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ ? विशेष महाधिवेशन पक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ–अतः पार्टी विधानभन्दा माथि कोही पनि हुन सक्दैन । विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु पार्टी नेतृत्वको न्यूनतम जिम्मेवारी हो ।









Facebook Comments