
काठमाडौं । राहदानी विभागले केही समययता प्रभावित बनेको राहदानी छपाइ र वितरण प्रक्रिया पुनः पूर्ववत् अवस्थामा फर्काएको छ।
अब राहदानी पुस्तिका छपाइ भएसँगै साविकको जस्तै तालिकाअनुसार सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा पठाइने विभागले जनाएको छ।
विभागका सूचना अधिकारी केशवराज पन्थीका अनुसार जेनजी आन्दोलनअघि लागू रहेको प्रणालीअनुसार अब जिल्लाबाट वा विदेशस्थित नियोगमार्फत आवेदन दिएका सेवाग्राहीको राहदानी समयमै छपाइ गरी सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था मिलाइएको छ।
तत्काल राहदानी आवश्यक पर्ने सेवाग्राहीका लागि विभागमै आवेदन दिन सकिने व्यवस्था यथावत् रहेको छ। यसका लागि आवश्यकताअनुसार पर्याप्त ‘अपोइन्टमेन्ट’ समय खुला गरिएको र आवेदकले आफूले रोजेको समयमा विभागमा उपस्थित भई सेवा लिन सक्ने पन्थीले जानकारी दिए।
विभागका अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट गत मङ्सिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीको राहदानी छपाइ गरी पठाइसकिएको छ। त्यसपछि आवेदन दिएका सेवाग्राहीको राहदानी पुस २५ गतेसम्ममा सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था मिलाइएको छ।
त्यसैगरी, विदेशस्थित नेपाली नियोगमार्फत मङ्सिर मसान्तसम्म आवेदन दिएका आवेदकको राहदानी वैयक्तिकरण गरी पठाइसकिएको विभागले जनाएको छ। बाँकी आवेदकको हकमा नियमित तालिकाअनुसार प्रक्रिया अघि बढाइनेछ। यही महिनाको २५ गतेपछि भने एक वा दुई हप्ताको अन्तरमा छपाइ गरी साविककै समय तालिकाअनुसार राहदानी वितरण गरिने विभागको भनाइ छ।
राहदानी वितरण पुनः नियमित भएसँगै सेवाग्राहीले समयमै सेवा पाउने अपेक्षा गरिएको विभागले जनाएको छ।










Facebook Comments