
काठमाडौँ । काठमाडौँ महानगरपालिका नगर प्रहरी बलका ७ जना नगर प्रहरी निरीक्षकलाई कायममुकायम नगर प्रहरी नायव उपरीक्षकमा बढुवा गरिएको छ।
बिहीबार महानगरपालिकाको सभा कक्षमा आयोजित विशेष समारोहमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सुशासन समितिका संयोजक ख्यामराज तिवारीको उपस्थितिमा नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले उनीहरूलाई नगर प्रहरी नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरे।
दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा लीलाराज गाछा, ध्रुवकुमार भुजेल, किशोरकुमार भट्टराई, प्रकाश पण्डित, चन्दन श्रेष्ठ, राजेन्द्र देवकोटा र एलिजा नेपाल छन्। समारोहमा विषयगत समितिका संयोजक, वडाध्यक्ष र विभागीय प्रमुखहरूको उपस्थिति थियो।
समारोहमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले नगर प्रहरी बलको कामले महानगरपालिकाको सहरी व्यवस्थापनमा सकारात्मक सुधार आएको बताए। वृत्ति विकासका अवसर खुलेसँगै पदोन्नतिबाट सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
सुशासन समितिका संयोजक तिवारीले नगर प्रहरी महानगरबासीको दुःख–सुखमा साथमा रहेको अनुभूति गराउनुपर्ने बताए। महानगर प्रहरी ऐन जारी भइसकेकाले सबै तहका नगर प्रहरीलाई न्यायोचित पदोन्नतिको समान अवसर उपलब्ध हुने उल्लेख गरे।
नगर प्रहरी बलका प्रमुख पाण्डेले ३३ वर्षपछि नगर प्रहरी बलले आफ्नै ऐन प्राप्त गरेको भन्दै यसले वृत्ति विकासका लागि स्पष्ट आधार दिएको बताए। बढुवा केवल दर्ज्यानी चिन्ह नभई जिम्मेवारी थपिएको विषय भएको उनको भनाइ थियो।
नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारअन्तर्गत काठमाडौँ महानगरपालिकाले वि.सं. २०५० भदौ १४ गते नगर प्रहरी सेवा सुरु गरेको हो।
महानगरपालिकाको नीति, कानुन तथा निर्णय कार्यान्वयन, सहरी सुव्यवस्थापन र व्यवस्थापन नगर प्रहरीको मुख्य जिम्मेवारी हो। महानगर प्रहरी ऐनले नगर प्रहरी बललाई सेवामूलक, जनउत्तरदायी र गुणस्तरीय बनाउने दिशामा निर्देशित गरेको छ।








Facebook Comments