
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिक उम्मेदवार सूचीलाई लिएर आन्तरिक विवाद चर्किएको छ। पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले समानुपातिकतर्फ आफ्नी श्रीमती सरस्वती लामालाई शीर्ष स्थानमा राखेपछि नेतृत्व तहभित्रै असन्तुष्टि सतहमा आएको हो।
पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले सार्वजनिक रूपमा आपत्ति जनाउँदै समानुपातिक सूची तत्काल सच्याउनुपर्ने माग गरे। उनले पार्टी जोगाउने हो भने पहुँच र परिवारवाद अन्त्य गरेर योगदान गरेका र कमजोर वर्गका कार्यकर्तालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका शाहीले विगतमा एउटै परिवारबाट पटक–पटक सांसद बन्ने प्रवृत्तिको आलोचना गरे। २०६४ देखि २०७९ सम्म एउटै परिवारबाट चार जना सांसद भइसकेको उल्लेख गर्दै उनले फेरि पनि त्यही अभ्यास दोहोरिनु अन्यायपूर्ण भएको टिप्पणी गरे।
उनले पार्टीबाट कारबाहीमा परेकी र साधारण सदस्यसमेत नरहेकी व्यक्तिलाई समानुपातिक सूचीको शीर्ष स्थानमा राखिएको आरोप लगाउँदै यसले पार्टीको साख र मूल्य–मान्यतामा गम्भीर असर पर्ने चेतावनी दिए।
साथै, शाहीले आफूलाई सक्षम र लोकप्रिय ठान्ने नेताहरूलाई समानुपातिक प्रणालीको सहारा नलिई प्रत्यक्ष निर्वाचनमा होमिन चुनौती दिए। समानुपातिक प्रणालीलाई सीमित व्यक्तिको लाभका लागि प्रयोग गर्न नहुने उनको भनाइ छ।
समानुपातिक सूचीलाई लिएर देखिएको यो विवादले राप्रपाभित्रको आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा उजागर भएको संकेत दिएको छ।










Facebook Comments